मुस्ताङ - मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरु गरिएको छ । बायोकोर्स नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेंकमा हिउँ चितुवा सङ्ख्या एकीन गर्न क्यामेरा ट्यापिङ मार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो ।
बायोकोर्स नेपाल र एक्याप मिलेर वारागुङ मुक्ति क्षेत्र गाउँपालिका अन्तर्गतका उच्चलेंकमा हिउँ चितुवाको सङ्ख्या यकिन गर्न, हिउँ चितुवाको आहारा प्रजातिको अवस्था र मानव र हिउँ चितुवा बिचको द्वन्द्वको अवस्था पहिल्याउन र जलवायु परिवर्तनका कारण हिउँ चितुवाको बास स्थान र विद्यमान अवस्थाको जानकारी लिने उद्देश्यले हिउँ चितुवाको अध्ययन अनुसन्धान गर्न क्यामेरा ट्ययापिङ सुरु गरिएको बायोकोर्स नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार गत हप्तादेखि यहाँको वारागुङ मुक्ति क्षेत्रको झोङ,पुडाक, छेङ्गुर,थोरङ्फेदी, फल्याक,धार्काजुङ र मुस्ताङ—डोल्पा सडकको उच्चलेंकमा १५ थान क्यामेरा जडान गरिएको बताए ।
आजदेखि यहाँको घरपझोङ गाउँपालिका अन्तर्गत स्याङ,मार्फा र चिमाङ गाउँको उच्चलेंकमा थप क्यामेरा हिउँ चितुवा ट्यापिङका लागि थप क्यामेरा जडान गरिने कार्यक्रम रहेको छ । बायोकोर्स र एक्यापका प्राविधिक टोलीले यहाँका उच्चलेंकमा हिउँ चितुवाको सम्भावित बास स्थान क्षेत्रमा पुगेर क्यामेरा जडान गरेका हुन् ।
यहाँका सम्भावित हिउँ चितुवा बास स्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका ट्ययापिङ क्यामेरा दुई महिनासम्म लेंकमा राखिने छन् । हिउँद याममा हिउँ चितुवाको सङ्ख्या एकीन गर्न र हिउँ चितुवाको गतिविधि थाहा पाउन क्यामेरा जडान गरिएको हो ।
सन् २०२२ देखि लगातार मनाङमा चार वर्षसम्म निरन्तर हिउँ चितुवाको अध्ययन गर्न क्यामेरा ट्ययापिङ गर्ने गरिएकोमा यसपालि मुस्ताङमा यसप्रकारको कार्यक्रम भने पहिलो हो ।

