रौतहट- आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले जेनजी आन्दोलनले देशको गौरव बढाएको भन्दै यो आन्दोलनलाई अपराधीकरण नगर्न प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिएका छन् ।
सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यको लागि नेपालको जेनजी पुस्ताले सडकमार्फत विद्रोह गरेर दुई तिहाइको सत्ता ढालेको भन्दै साहले यस्तो आन्दोलनको गौरव गर्नुको साटो अहिलेको सरकारले जेनजी आन्दोलनकारीलाई धरपकड गर्ने र मुद्दा लगाउने काम गरेको भन्दै आक्रोश पोखेका हुन् ।
आम जनता पार्टीको निर्वाचन क्षेत्रीय भेला रौतहट–४ चन्द्रपुर–७ नयाँ बस्तीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री साहले प्रधानमन्त्री कार्कीलाई जेनजी आन्दोलनलाई विद्रुपीकरण गर्ने र आन्दोलनमा सहभागी साहसी युवाहरूलाई प्रताडित गर्ने काम तत्काल बन्द गर्न चेतावनी दिएका हुन् ।
साहले भने‘म सुशीला कार्कीलाई सोध्न चाहन्छु–जेनजी आन्दोलन महान थियो कि नाजायज थियो ? तपाईं त यही जेनजी आन्दोलनबाट प्रधानमन्त्री बन्नुभयो, तर जेनजी युवालाई हत्कडी लगाउनुभएको छ, यो गलत हो । तपाईंले जेनजी आन्दोलनकै बेलामा भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्नुभएको थियो, तर अहिले प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएर ती महान जेनजीलाई हत्कडी लगाउनुभएको छ, भ्रष्टलाई सम्मान गर्नुभएको छ, प्रधानमन्त्रीज्यू तपाईंको यो दोहोरो चरित्र किन ? यो दोहोरो चरित्र अब चल्दैन ।’
उनले प्रधानमन्त्री कार्कीलाई ऐतिहासिक जेन–जी आन्दोलनलाई संस्थागत गर्न र उनीहरूको माग सम्बोधन गर्न सुझाव दिए । उनले भने,‘तपाईं त अहिले उल्टै नेताहरूको चाकडीमा लाग्नुभएको छ, तिनै चोर नेताहरूको इशारामा हिँडिरहनुभएको छ । यो हामीलाई स्वीकार्य छैन । जेनजीलाई सताईराख्नुभएको छ, यो हर्कत दुनियाँलाई मन परेको छैन । यो सुधार गर्नुहोस् ।’
उनले भदौ २३ गते जेनजी युवाहरू र अबोध बालबालिकामाथि गोली हानेर ताकि ताकि हत्या गरेपछि भदौ २४ गते प्रतिक्रियास्वरुप जनविद्रोह भएको टिप्पणी गरे ।
उनले भने,‘शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका जेजनीहरुको हत्या नभएको भए, र अबोध बच्चाहरूमाथि गोली नबर्साएको भए भोलिपल्ट जनविद्रोह हुँदैन थियो, यो तोडफोडको सम्भावना थिएन । जुन आमाबुवाको आफ्ना बच्चाहरू मारिएका छन्, जसको कोख रित्तिएको छ, उनीहरूलाई एक पटक सोध्नुहोस् त । तोडफोड त जेनजीहरुको हत्याको विरुद्धमा उत्पन्न जनविद्रोहको प्रतिक्रिया हो । हत्याभन्दा ठुलो अपराध तोडफोड हो त ? अब जेनजीहरुको बेहाल बनाउने काम स्वीकार्य छैन ।’
उनले वर्तमान सरकार नै जेनजी आन्दोलनको बलमा बनेको भन्दै आफ्नो जग नबिर्सिन प्रधानमन्त्री कार्कीलाई चेतावनी दिए । उनले भने,‘यो सरकारको स्वामित्व कसले लिने ? सुशीला सरकार जेनजी आन्दोलनले बनाएको भनेर दुनियाँलाई थाहा छ, प्रधानमन्त्री र राष्ट्रपति त लखेटिएका थिए, सेनाको सहारामा लुकेर बसेका थिए, अहिले आएर तपाईंले मलाई राष्ट्रपतिले प्रधानमन्त्री बनाएको भन्ने ? कि त तपाईं म जेनजीलाई चिन्दिनँ भन्नुहोस । होइन भने नैतिकता देखाउनुहोस् ।’
साहले आफूहरू अब ठुलो आन्दोलनमा होमिएको भन्दै भ्रष्टाचारविरुद्धको लडाइँ जितेरै छोड्ने घोषणा गरे । उनले भ्रष्ट र चोर नेताकै कारण देशको मुहार परिवर्तन नभएको दाबी गरे ।
उनले भने,‘नेपाललाई यो हालतमा पुर्याउने यिनै चोर नेता र दलहरू हुन् । नेता तन्त्र र भ्रष्ट अनि दलाल दल तन्त्रको कारण देशको यो हालत भएको छ । म लोकतन्त्रको लागि लडेको छु भन्नेलाई एक पटक सोध्नुहोस्, तपाईंले के गर्नुभयो भनेर ? अहिले नेताको आसेपासे मालामाल, जनता लाचार भएका छन् । मनोमानी र लुटतन्त्र गर्नेलाई लखेट्ने बेला आएको छ । छद्यभेषीलाई चिन्नुपर्छ ।’
साहले हिजो मधेस समृद्ध रहेको इतिहास सुनाउँदै आज मदेसवादी दलकै कारण मधेस उजाड भएको आरोप लगाए । सिङ्गो देशलाई पाल्ने अन्नको भण्डार मधेस आज कमजोर बनाउने काम यहाँका शासक मदेसवादी दलले गरेको उनको आरोप थियो । उनले भने,‘मदेसलाई यो हालतमा पुर्याउने काम यिनै मधेसको ठेकेदारी गर्नेहरूले पुर्याएको हो, यिनीहरूलाई अब सोध्ने बेला आएको छ । यी छद्यभेषीको नकाब उतार्नुपर्छ ।’
उनले सिङ्गो देशबाट नै भ्रष्टाचार उखेलेर फाल्ने भनेर आफूहरूले संकल्प गरेको उद्घोष गरे । उनले भने,‘हामीले केही संकल्प गरेका छौं । भ्रष्टाचार उखेलेर फाल्छौं । दलतन्त्र उखेलेर फाल्छौं । अहिले चुनावको बेलामा नयाँ दलहरू च्याउ उम्रिएझैं उम्रिएका छन् । हामीले त चुनाव सकिएपछि पार्टी बनाएको हो । संसदबाट मात्रै लडेर हुँदैन भनेर पार्टी बनाएको हो । हामी लगातार तीन वर्षदेखि भ्रष्टाचारविरुद्ध लडेका छौं । भ्रष्टाचारीको मनोवल गिराउन र जनताको मनोवल बढाउन लडेका छौं । कर आतंकविरुद्ध लडेकै हो । नेपालमा दुनियाँको महँगो कर नेपालमा छ । दुनियाँमा जिडिपीको २० प्रतिशत मात्रै कर लिइन्छ, तर नेपालमा जिडिपीको ३५ प्रतिशत कर लिइन्छ । आम्दानीको ठुलो हिस्सा सरकारले लिएपछि के प्रगति हुन्छ?’
साहले मौलापुरमा कर आतंक बन्द गर्नुपर्छ भनेर आफूहरूले ‘शून्य कर’ को नीति लागु गरेको र सफल भएको सुनाए । उनले भने,‘हामीले यहाँ एक रुपैयाँ पनि कर लिएका छैनौं । मौलापुरले जनताको लिने होइन, जनतालाई दिने काम गरेको छ । मौलापुरले देशमा एउटा मोडेलको काम छ । समृद्धिको जग हासिल गर्नेछौं । नेपालमा प्रकृतिले हामीलाई स्वर्ग दिएको छ । तर, नेताहरूको कुकर्मले देश नर्क बनाए । बयोवृद्धमात्रै छन् । युवाहरू पलायन हुनुपरेको छ । यो अवस्थाको अब अन्त्य गरिनुपर्छ ।’

