काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा राजनीतिक दलहरूले कमजोर सुरक्षा प्रणालीभित्र निर्वाचन कसरी हुन्छ भन्दै प्रश्नै प्रश्न तेर्साएका छन्। बैठकमा नहुने निर्वाचनको छलफल किन गरिरहनु भन्दै नेकपा एमाले उपस्थित हुँदा गृहमन्त्री ओम प्रकाश अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठक बिच नोकझोकनै भएको छ।
प्रधानमन्त्री कार्कीले शुक्रबार निर्वाचन तयारी र सुरक्षा व्यवस्था र वातावरण बारे राजनीतिक दल‚ निर्वाचन आयोग तथा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन्। छलफलमा सहभागी भएका दलहरूले आ-आफ्नो पार्टीको तर्फबाट मत राखेका छन्। बैठकमा बोल्दै नेकपा एमाले महासचिव शंकर पोखरेलले नहुने चुनावबारे छलफल गरेर किन समय खेर फाल्नु भनेका थिए । बाराको सिमरामा भएको घटनाको प्रसङ्ग निकाल्दै पोखरेलले सुरक्षा चुनौतीमाथी पनि प्रश्न उठाए । सिमरामा नेकपा एमाले नेता महेश बस्नेत जाने भएपश्चात् जेनजी समूह र एमालेबिच झपडनै भएको थियो भने प्रशासनले कर्फ्यु समेत लगाउनुपर्ने स्थिति बनेको थियो ।
उक्त घटनाको प्रसङ्ग निकाल्दै पोखरेलले ‘नहुने चुनावको बारे के छलफल किन गरिरहनु’ भनेका थिए । दलहरूले गतिविधि गर्न पाएका छैनन् । चुनावको वातावरण छैन अनि कसरी हुन्छ चुनाव भन्दै महासचिव पोखरेल बैठकमा बोले। एमालेले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्थान हद तोक्ने विषयमा पनि कडा आपत्ति जनाएको थियो । ‘प्रमुख दलको अध्यक्षलाई स्थान हद तोकेर कस्तो निर्वाचन गर्न खोजेको हो‚’ महासचिव पोखरेलको प्रश्न थियो ।
बैठकमा एमालेले विदेशबाट मतदान गर्ने विषयलाई पनि स्वीकार गर्न नसक्ने स्पष्ट पारेको छ । बाहिरी भोटिङको विश्वसनीयता र वैधता माथि एमालेको प्रश्न थियो । महासचिव पोखरेलले अहिलेको चुनावमा विदेशबाट मतदान गर्ने विषय सम्भव नहुने बताएका थिए ।
बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापले पनि पार्टीको अडान स्पष्ट राखेका थिए। गगनले नेपाली कांग्रेसले सरकार गठन र संसद् विघटनलाई संवैधानिक नमान्ने तर चुनावमा भने भाग लिने जानकारी गराएका थिए । बैठकमा महामन्त्री थापाले दिनदिनै जेनजी तथा अन्य विभिन्न समूहका नाममा राजनीतिक दल र सरकारमाथि भइरहेको प्रहारमाथि पनि आपत्ति जनाएका थिए ।
थापाले राजनीतिक दलहरू कल्चरबाट आउने र उनीहरू बिच राजनीतिक सम्बन्ध हुने भन्दै ‘नयाँ भनिएकाहरूमा त्यसको अभाव’ भएको आशयमा धारणा राखेका थिए। आफूलाई कुनै कार्यक्रममा जाँदा नचिनेकाहरूबाट घेराबन्दी गरेको र आक्रमण सम्मको प्रयास भएको प्रसङ्ग उप्काउँदै थापाले प्रश्न गरेका थिए-‘नयाँ नयाँले समस्या क्रिएट गरेका छन् । त्यसलाई के गर्ने ?’ उनले राजनीतिक दल वा समूहको लिडर हुने र उसैसँग संवाद गर्दा समाधान निस्कने भन्दै नयाँ नयाँ भनिएकाहरूको को सँग संवाद गर्ने भन्दै प्रश्न गरेको स्रोतले बतायो ।
बैठकमा गगनले शान्ति सुरक्षाको विषय पनि उठान गरेका थिए । उनले ६२/६३ मा पनि अवस्था अहिलेको जस्तै भएको र आफ्ना कार्यकताहरूमाथी आक्रमण भएको स्मरण गरेका थिए । साथै उनले चुनावको वातावरण बनाउनुपर्नेमा पनि जोड दिएका थिए।
गृहमन्त्रीसँग जंगिए राप्रपा महामन्त्री पाठक
आजको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल र राप्रपा बिच नोकझोकनै पर्यो । गृहमन्त्री अर्यालले सुरक्षा चुनौतीको विषयमा कुरा उठाउँदा राजावादी र हिन्दुवादी दलहरू पनि निर्वाचनका लागि चुनौती भएको बताएका थिए । त्यसपश्चात् प्रतिवाद गर्दै राप्रपा महामन्त्री भुवन पाठकले ‘के भन्न खोजेको हो’ भन्दै आक्रोश पोखेका थिए ।
पाठकले शान्ति सुरक्षाको विषय सरकारको भएको भन्दै एक पछि अर्को प्रश्न उठाएको स्रोत बताउँछ । ‘गृहमन्त्रीको अभिव्यक्ति पश्चात् उहाँले तपाईँले के भन्नुभएको भन्दै आक्रोश पोख्नुभयो । चुनाव भए हामी चुनावमा जान्छौँ बहिस्कार गर्दैनौँ र यसका लागि वातावरण बनाउनुहोस् भन्नुभयो ।’ पाठकले आक्रोश पोखे पश्चात् गृहमन्त्री अर्यालले माफिनै मागेका थिए ।
‘मैले दललाई इङ्गित गर्न खोजेको होइन । बोल्दा खेरी गल्ती भएछ । सरी‚’ गृहमन्त्री अर्यालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । राप्रपाले पनि शान्ति सुरक्षा नभएको अवस्थामा कसरी चुनाव हुन्छ भन्दै प्रश्न उठाएको थियो । ‘तपाईँहरूले केही समस्या नै छैन भनेजस्तै गर्नुभयो । यहाँ त साइवर अट्याक सम्म समस्या छ । निर्वाचन आयोग र सुरक्षाले ठिक छ भन्दैमा वातावरण चुनावकेन्द्रीत छैन‚’ पाठकले बैठकमा कुरा राखेको स्रोतले बतायो । अनी प्रधानमन्त्रीले भनिन्- मलाई शंका नगर्नुहोस् बैठकमा राजनीतिक दलहरूले सुरक्षा र निर्वाचनको विषयलाई लिएर एक पछि अर्को प्रश्न उठाएपश्चात् प्रधानमन्त्री कार्कीले जवाफ दिएकी थिइन् । कार्कीले आफू विशेष परिस्थितीमा निर्वाचन गराउन आएको भन्दै आफूलाई विश्वास गर्न अनुरोध गरेकी थिइन् ।

