हेटौँडा- भोलिदेखि हेटौंडाको रातमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुलसम्म, साथै बुद्ध चोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर-टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।
सडक डिभिजन कार्यालय हेटौँडाले सार्वजनिक सूचना जारी गर्दै भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो ।सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार भौतिक संरचना हटाउने तयारी पूरा भएको छ ।
अधिकारीले भने, ‘भोलिदेखि हामी राप्तीपुर र रातो पाटी तर्फ विस्तारको दायरा बढाउँदै लैजान्छौँ । २५ वटा डोजर र २५ वटा अन्य मेसिन ल्याएर काम सुरु गर्ने तयारीमा छौँ ।’
उनका अनुसार सडक विस्तारसँगै निर्माण भइरहेको बाइपास सडक पनि अन्तिम चरणमा पुगेको छ । विस्तार कार्य संवेदनशील मानिँदै सुरक्षा निकायले साइट क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको छ ।
सडक विस्तारको सूचना सार्वजनिक भएको केही दिनमै बजार क्षेत्र तनावग्रस्त बनेको छ । २५/२५ गजभित्र पर्ने संरचना धनीहरू आन्दोलित भइरहेका छन् भने स्थानीय तहमा समेत दबाब बढिरहेको छ ।
सरकारले सडक विस्तारलाई दीर्घकालीन यातायात व्यवस्थापनको पूर्वाधारका रूपमा अघि बढाएको बताउँदै, डिभिजन कार्यालयले सबै प्रक्रियाहरू कानुनी दायराभित्र रहेर अघि बढाइने जनाएको छ ।

