काठमाडौं - ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक परिवर्तन र भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माणको एजेन्डामा असफल हुन सक्ने बताएका छन् ।
बुधबार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले यदि सही व्यक्ति छानिएन र आफ्ना व्यक्तिहरू, हाम्रा व्यक्तिहरू छानियो भने देश परिवर्तन हुन गाह्रो हुने भन्दै भाषण गर्न सक्ने व्यक्ति समृद्धिको एजेन्डामा असफल हुन सक्ने बताए ।
उनले भने, ‘सही व्यक्ति, सही समयमा, सही ठाउँमा हुनुपर्छ । त्यसपछि देश परिवर्तन हुन्छ । त्यसपछि ठुलो परिवर्तन सम्भव हुन्छ । यदि सही व्यक्ति छानिएन आफ्ना व्यक्तिहरू, हाम्रा व्यक्तिहरू छानियो भने देश परिवर्तन हुन गाह्रो छ । राजनीतिक परिवर्तन गर्न, भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माण र समृद्धिको एजेन्डामा असफल हुन सक्छन् । त्यस कारण भाषणले होइन कामले गर्नुपर्छ । परिणाम दिनुपर्छ ।’
यस्तै, उनले सही व्यक्तिहरूको छनोट गरेर मन्त्रालयहरू जिम्मा दिएको भए, सही व्यक्तिहरूलाई सचिवदेखि तलसम्मको जिम्मेवारी दिएको भए आजको अवस्था सिर्जना नहुने पनि बताए ।
उनले भने, ‘सुशासन, समृद्धि र सामाजिक न्यायको जुन कुरा छ, सुशासन भएन भने देश बन्दैन । किन हरेक राजनीतिक परिवर्तन पछिका नेताहरू, सरकारहरू किन सफल भएनन् त राजनीतिक परिवर्तनमा उहाँहरू एकदमै अब्बल देखिनु भयो तर त्यही व्यक्तिले विकासको एजेन्डा लिएर अगाडि बढ्दा सफल हुदैँन रहेछ भन्ने कुरा प्रमाणित भएको छ । सही व्यक्तिहरूको छनोट भएन, सही व्यक्तिहरूलाई यदि मन्त्रालयहरू जिम्मा दिएको भए, सही व्यक्तिहरूलाई सचिवदेखि तलसम्मको जिम्मेवारी दिएको भए त्यो अवस्था आउदैँन थियो । प्रधानमन्त्रीदेखि तलसम्मको व्यक्तित्व सही हुनुपर्छ ।’
राजनीतिक परिवर्तन, सिस्टम र आइडोलोजिले मात्र देश नबन्ने भन्दै देश राम्रो बनाउनको लागि सही नेतृत्व एकदमै जरुरी भएको पनि उनको भनाई छ ।
देशमा भएको परिवर्तनबाट देशले निकास पाउनु पर्ने भन्दै अब फागुन २१ को चुनावले एउटा परिवर्तनलाई संस्थागत गर्ने उनको भनाई छ ।
उनले भने, ‘देशलाई फेरि पहिलाकै अवस्थामा कसरी लाने भन्ने कुरा एकदमै महत्त्वपूर्ण छ र त्यो महत्त्वपूर्ण जिम्मेवारीमा हामी छौ । यो परिवर्तनबाट देशले निकास पाउनु पर्छ भनेर लागेका छौ । अब फागुन २१ को चुनावले एउटा परिवर्तनलाई संस्थागत गर्ने छ ।’

