काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै निगमले उक्त जानकारी दिएको हो ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य सूची अनुसार निगमले इन्धनको आइतबार मूल्य समायोजनको निर्णय गरेकामा सोमबार अर्थात् आजबाट लागू भएको हो । जसअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाउने निर्णय भएको छ।
घटेको मूल्यपछि अब काठमाडौँ उपत्यका, पोखरा र दिपायल (तेस्रो वर्ग) मा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ। त्यस्तै, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १४५ रुपैयाँ र पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज) मा १४३ रुपैयाँ ५० पैसा पर्नेछ।
निगमले आन्तरिक तथा बाह्य दुवैतर्फको हवाई इन्धनको मूल्य भने बढाएको छ। आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ। बढेको मूल्यपछि अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ रुपैयाँ पुगेको छ।
त्यस्तै, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा काठमाडौँका लागि प्रति किलोमिटर ४२ अमेरिकी डलरले वृद्धि गरिएको छ। अब यसको नयाँ मूल्य १०१५ अमेरिकी डलर कायम भएको छ।

