काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल गरेकी छिन् । सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिए ।
सोही अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुङ्गो लगाउन आग्रह गरेका थिए । सरकारका अधिकारीहरूले जेनजीका तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रूप दिने क्रममै रहेको बताएका थिए ।
प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुङ्ग्याउन निर्देशन दिइन् । उनले भनिन्, ‘अब यो विषय धेरै लम्ब्याउनु हुँदैन । आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस्, पर्सि आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ हेर्नुहोस् । सोमबारभित्रमा अन्तिम रूप दिइएको हुनुपर्छ । अब धेरै दिन कुर्न सकिँदैन । हस्ताक्षर गरेकै कारणले केही व्यहोर्नुपरे म बेहोरौँला । मेरो सिङ्गो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ । यो राजनीतिक दस्तावेज हो । कर्मचारी प्रशासकहरूले चिन्ता लिनु पर्दैन ।’

