Harsamaya
०८२ को मंसिरभित्रै महाधिवेशन गरौं भन्ने डा. शेखर कोइराला मात्रै हुन् : उपसभापति गुरुङ
नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ ।

विराटनगर - भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपाली काङ्ग्रेसमा उठेको बहसकाबारे नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले मुख खोलेका छन् ।

काङ्ग्रेसलाई सधैं मिलनको बाटोमा पुर्याउन प्रयास गर्ने उपसभापति गुरुङले विराटनगर पुगेर काङ्ग्रेसमा पछिल्लो समय देखिएको बहसबारे मुख खोलेका हुन् । 

बिहीबार विराटनगरको कंचनजंगा पार्टी प्यालेसमा भएको नेपाल वित्तीय सस्था कर्मचारी संघ, कृषि विकास बैंक केन्द्रीय समितिको आठौं केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै उनले भदौ २२ गतेको केन्द्रीय समितिको स्मरण गराउँदै भने ‘डा. शेखर कोइराला बाहेक कसैले पनि २०८२ भित्रै महाधिवेशन हुनुपर्छ भन्ने अडान लिनु भएको थिएन । डा. शेखर कोइराला मात्रै हो जसले २०८२ मंसिर भित्रै महाधिवेशन हुनुपर्छ भनेर बारम्बार दोहोर्‍याउनु भयो ।’   

सबैले आफ्नो पद एक वर्ष भएपनि बढ्ला कि भन्दै केन्द्रीय समितिमा मौन बसेको उनले बताए । जेनजी आन्दोलनपछि एकाएक पार्टीमा अनेक बहस उठेको भन्दै यो बहस भदौ २२ गते अगाडि कम्तीमा नियमित महाधिवेशन समयमै गरौं भनेर उठेको भए अहिले पनि जायज मान्न सकिने धारणा राखे । 

भदौ २२ को जेनजी आन्दोलनलाई स्मरण गर्दै उनले सिंहदरबार लगायत देशका संरचना जलाउने जेनजी नभइ यो देशमा सधैं अस्थिरता सिर्जना गर्ने तत्त्व रहेको बताए । उनले भने, ‘सिंहदरबार लगायतमा आगो लगाउने जेनजी होइनन्, देशमा अस्थिरता सिर्जना गर्ने तत्व हुन ।’

२०६२ साल अगाडि र यतिबेला गाउँगाउँ पुगेको विकासबीच पनि जनतामा निराशा मात्रै छरेर देशमा अस्थिरता सिर्जना गर्न खोजिएको उनको दाबी थियो । ‘२०६२ भन्दा अगाडि नुन बोकेर गाउँ जानुपर्थ्यो, टेलिफोन गर्न कतै टावर थिएन यति छोटो समयमा अहिले लगभग सबै गाउँलाई सडक संजालले जोडेको छ, उनले भने, ‘गाउँ गाउँमा टेलिफोन टावर पुगेको छ तर पनि यस बLचमा केही पनि भएन भन्ने भाष्य सिर्जना गरी नकारात्मकता मात्रै बाडिएको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेकै निर्वाचन प्रणालीले देशलाई निकास नदिने ठोकुवा समेत गरे । अहिलेकै प्रणालीले निकास दिने भए जेनजी आन्दोलन नहुने भन्दै उनले संविधान संशोधन अपरिहार्य रहेको उल्लेख गरे । 

यतिबेला देश अत्यन्त संकट अवस्थामा रहेको भन्दै यो संकट समाधान गर्न पनि सबै राजनैतिक दल मिल्नुको विकल्प नभएको उनको तर्क थियो । ‘यतिबेला देश निकै संकटमा छ यो संकट मोचन गर्न सबै राजनैतिक दल एक ठाउँमा हुनु आवश्यक छ ’ उनको भनाइ थियो ।

जेनजी आन्दोलन पछि प्रहरीको मनोबल अत्यन्त गिरेको भन्दै यस्तो अवस्थामा निर्वाचन हुने सम्भावना अत्यन्त न्यून भएको उल्लेख गर्दै यस्तो अवस्थामा सबै राजनैतिक दल एकै ठाउँमा हुनुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update