Harsamaya
प्रधानमन्त्रीको सचिवालयबाट १४ जनालाई हटाइयो 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- प्रधानमन्त्रीको सचिवालयबाट १४ जनालाई जिम्मेवारी मुक्त गरिएको छ।

प्रधानमन्त्रीको सचिवालयबाट जारी विज्ञप्तिअनुसार कुल ६६ दरबन्दी भए पनि मितव्ययी ढंगले २० जनाबाट सचिवालय सञ्चालन हुँदै आएको अवस्थामा उठेका सवालका कारण सचिवालयको आकार झनै संकुचन गर्ने निर्णय गरिएको हो।

विभिन्न पक्ष, विशेषगरी जेनजी पुस्ताबाट उठेका आलोचना तथा सुझावलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले सचिवालय र विज्ञ समूहको संरचना पुनःव्यवस्थित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। नयाँ संरचना अनुसार सचिवालयमा अब मुख्य सल्लाहकार १, जनसम्पर्क सल्लाहकार १, प्रमुख स्वकीय सचिव १, प्रेस संयोजक १, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) १ र जनस्वास्थ्य विज्ञ (अवैतनिक) १ गरी जम्मा ६ पद मात्र रहने छन्।

यस अनुसार विगतमा कायम रहेका अन्य सबै पद खारेज हुनेछन्। सो निर्णय मंसिर ११ गतेदेखि लागू हुने उल्लेख प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update