Harsamaya
रास्वपासँग एकता गर्ने विवेकशीलको निर्णय, घोषणासभा आइतबार 
तस्वीरः विवेकशील सचिवालय

काठमाडौं - विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुने भएको छ । विवेकशील साझाले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबीचको 'बृहत्तर ध्रुबीकरण/एकीकरण प्रस्ताव'लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग पार्टी एकीकरण गर्ने निर्णय पारित गरेको विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले जानकारी दिए ।

'जेनजी विद्रोह'ले रास्वपासँगको एकीकरणलाई तीव्रतर बनाइदिएको परियारको टिप्पणी छ । "निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, समृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिबद्धताका साथ एकीकरण"को निर्णय भएको परियारको भनाइ छ । 

एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वको उच्च समझदारीमा चाँडै टुंग्याइने र आगामी आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुने प्रवक्ता प्रधानले जनाए ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update