काभ्रेपलाञ्चोक - अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ । नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिको काम सुरु भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी पुनः ठेक्का आह्वान गरी सी–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको हो । भ्याटबाहेक ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालोपत्र सक्ने र बाँकी काम क्रमशः गर्दै निर्धारित समयमा सकिने छ । विभिन्न स्थानमा कटिङसँगै पुनः विस्तारको काम सुरु भएको हो ।
निर्माणमा आएको ढिलासुस्तीका कारण तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बनेको छ । भक्तपुरले चालु आर्थिक वर्षको सुरुआतसँगै सडक पुनः विस्तार गर्न बोलपत्र आह्वान गरेको थियो । कार्यलयले पुरानो ठेक्का रद्द गरेको साढे चार महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो ।
अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकका रूपमा यो मार्ग प्रयोग हुन्छ । उक्त राजमार्ग समयमा नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य छन् ।

