Harsamaya
अमेरिका र भेनेजुएलाबीच तनाव बढ्यो
संयुक्त राज्य अमेरिकाले भेनेजुएला विरुद्ध थप कारबाही गर्ने तयारी।

एजेन्सी - संयुक्त राज्य अमेरिकाले भेनेजुएला विरुद्ध थप कारबाही गर्ने तयारी गरेको छ । तर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी धम्कीको सामना गर्ने जवाफ दिएका छन् । 

शनिबार रोयटर्सको एक रिपोर्टले अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले आगामी दिनहरूमा भेनेजुएला विरुद्ध नयाँ चरणको कारबाही सुरु गर्ने तयारी गरिरहेको बताएको छ ।

भेनेजुएलासँगको सम्बन्ध बिग्रँदै जाँदा अमेरिकी सेनाले हालै क्यारिबियन सागरमा आफ्नो उपस्थिति बढाएको छ । सेप्टेम्बरको सुरुदेखि, अमेरिकी सेनाले २० भन्दा बढी कथित लागूपदार्थ तस्करी गर्ने डुङ्गाहरू डुबाइसकेका छन्, जसमा ८० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । 

अमेरिकाले यी कारबाहीहरूलाई लागूपदार्थ विरोधी उपायहरूको रूपमा प्रस्तुत गरेको छ । जबकि भेनेजुएला पक्षले ती देशलाई अस्थिर बनाउने उद्देश्यले गरिएको भूराजनीतिक दबाब रणनीति भएको बताएको छ ।

अमेरिकाले भेनेजुएला वरिपरि आफ्नो सैन्य उपस्थिति बढाइरहेको बेला, विदेश विभागले सोमबारदेखि लागूऔषध तस्करहरूको एक खुकुलो संगठित सञ्जाल कार्टेल डे लस सोल्सलाई औपचारिक रूपमा विदेशी आतंकवादी संगठनको रूपमा तोक्ने निर्णय गरेको छ । 

मादुरोले पछिल्लो अमेरिकी आरोपहरू केवल मिथ्था रहेको जनाउँदै धम्की र मनोवैज्ञानिक युद्धको सामना गर्दा भेनेजुएला ‘अविनाशी’ हुन्छ भनेका छन् । मादुरोले देशलाई सतर्क रहन र अमेरिकी पक्षबाट सम्भावित आक्रमणको प्रतिकारका लागि सैन्य  अभ्यास गर्न आदेश दिएका छन्।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update