Harsamaya
सुदूरका जिल्लामा ४६ हजार नयाँ मतदाता: सबैभन्दा कम बाजुरामा 

बाजुरा - सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ४६ हजार नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ९ वटै जिल्लाका निर्वाचन कार्यालयमा  मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिईएको थियो ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि दिएको समय सीमा भित्र  सुदूरका जिल्लामा ४६ हजार २० मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार,२९ हजार ४३९ जनाले राष्ट्रिय परिचयपत्र र बाँकी १६ हजार ५८१ जनाले सम्बन्धित निर्वाचन कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिए ।

नयाँ थपिएका मतदाता मध्ये सबैभन्दा बढी कैलालीमा छन् । भने सबैभन्दा कम बाजुरामा रहेका छन् । कैलालीमा १८ हजार २१३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । त्यस्तै सबैभन्दा कम रहेको बाजुरामा एक हजार ५१७ जना नयाँ मतदाता थपिएका हुन् ।

कैलालीपछि क्रमशः कञ्चनपुरमा १२ हजार २९१, बैतडीमा दुई हजार ६५२, दार्चुलामा दुई हजार ६२८, अछाममा दुई हजार ६०४, बझाङमा दुई हजार ३४५, डडेलधुरामा एक हजार ८९२ र डोटीमा एक हजार ८७८ जना मतदाता थपिएका छन् । सबै जिल्लामा थपिएका नयाँ मतदाता बढिसजो जेनजी समूहका रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update