सिन्धुपाल्चोक - आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्कीको सरकार र केपी ओलीले मुलुकलाई एकपछि अर्को गरेर नियन्त्रित अस्थिरताको भूमरीमा हालेको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओली दुवैले मुलुकलाई महासंकटमा पुर्याएको उनको आरोप छ ।
प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको मर्म र भावनालाई कुल्चिएको र एमाले नेतृत्वले त सत्ताको दुरुपयोग गरेर जेन–जी आन्दोलनमा बर्बर दमन गरेको भन्दै दुवै जनाले जेन–जी आन्दोलनमाथि गम्भीर धोका दिएको र अहिले नियन्त्रित अस्थिरता चाहेको साहको आरोप छ ।
आज सिन्धुपाल्चोकको चौतारा स्थित अरनिको रिसोर्टमा सम्पन्न भएको पार्टीको जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले जेन–जी आन्दोलन भएको भदौ २३ गते सुशीला कार्की, ओमप्रकाश अर्याल, कुलमान घिसिङलगायतको भूमिका हेरिनुपर्ने र २४ भदौमा उनीहरूको सडकमा जबरजस्त उपस्थिति र चहलपहल पनि नियाल्दा जेन–जी युवाहरूको बलमा भएको जनविद्रोहको अपहरण गरिएको आरोप लगाए । उनले भने, ‘मैले भन्ने गरेको छु, युवाहरूको आक्रोश सही थियो, आन्दोलन पनि सही थियो, तर आन्दोलन कसले अपहरण गर्यो ? सुशीला कार्की, ओमप्रकाश र कुलमानहरूले, यो त छर्लङ्गै भइसक्यो, उनीहरूले जेनजी आन्दोलनको मर्म र भावनामाथि प्रहार गरेका छन् ।
गृहमन्त्री अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाउँदै उनले अध्यक्ष साहले यस्तो गृहमन्त्री राखेर शान्ति, सुरक्षाको वातावरण बन्न नसक्ने बताए । अहिले जाँचबुझ आयोगको टिओआर अनुसार काम नभएको र आयोगको कार्यअवधि नै सकिन लाग्दासमेत हत्यारा र दोषीहरूसँग बयानसमेत लिन नसकिएको भन्दै आयोगपनि निकम्मा भएको उनको आरोप छ ।
जेलबाट बाहिर निस्किएको भनेर रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने सरकारले भदौ २३ गते जेनजी आन्दोलनमा दमन गर्ने र युवाहरूलाई हत्या गर्ने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अहिलेसम्म किन बयान नलिएको भनेर पूर्व मन्त्री साहले प्रश्न गरे । ‘रवि लामिछानेलाई सिंहदरबारमा बोलाएर बयान लिने सरकारले जेनजी आन्दोनलमा दमन गर्ने र हत्या गर्नेहरुलाई किन बयान लिन सकेन ? किन डराएर बसेको छ ? एउटा आयोगको पदाधिकारीको पनि यो सरकारले सुरक्षा लिन नसक्ने अवस्था छ, अनि कसरी चुनाव गराउँछ ?’ आजपा अध्यक्ष साहले प्रश्न गरे ।
उनले कार्की नेतृत्वको सरकारलाई शान्ति, सु–व्यवस्था र अमन चयन कायम गर्ने कुरामा ध्यान दिँदै २१ फागुनको निर्वाचन सफल बनाउन मात्रै सम्पूर्ण तागत लगाउन सुझाव दिए । उनले सरकार चुनाव गराउने कुरामा गम्भीर नभएको विषय सरकारमा सहभागी मन्त्रीहरूको चरम महत्वकांक्षाले पनि पुष्टि गरिसकेको आरोप लगाए ।
गृहमन्त्री लुते भएकै कारण आज जसले गृहमन्त्रीको कुर्सीमा राखेको उनीहरूले नै राजीनामा मागेको भन्दै यो माग जायज रहेको पनि साहको टिप्पणी छ । बोल्ड गृहमन्त्री भएको भए देशव्यापी रूपमा एमालेले अराजकता र जेनजी युवाहरूलाई हातपात गर्न नसक्ने उनको ठम्याई छ । बाराको सिमरामा भएको घट्नामा पनि प्रहरी प्रशासनको अगाडि जेनजी युवाहरूलाई शान्तिपूर्ण प्रदर्शन गरेकै कारण कुटपिट भएको भन्दै यस्ता घटना दोहोरिन नदिनको लागि सरकारलाई चेतावनी दिए ।
एमाले अध्यक्ष केपी ओलीको कारण मुलुक मुठभेडको अवस्थामा जाने खतरा रहेको पनि उनको टिप्पणी छ । साहले जेनजी आन्दोलनमा दमन गरेका ओलीले चुनाव भाँड्ने गरि पार्टी पङ्क्तिलाई दुरुपयोग गरेको र दिनदिनै नयाँ नयाँ नाटक मञ्चन गरेको भन्दै देशभक्त एमाले जनले अब चुनावको लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बताए । साहले राज्य सत्ताको नेतृत्वबाट आफ्नै हठको कारण पछारिनुपरेका ओलीले अब पार्टी सत्ताबाट पनि हात धुनुपर्ने दिन आउन लागेको भन्दै अहिले युवा दस्ता तयार पारेर शक्ति प्रदर्शनमा उत्रिएको भन्दै तमासा देखाउन बन्द गर्न सुझाव दिए ।

