Harsamaya
राजावादीहरुको प्रदर्शनमा मृत्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चैत्र १५ गतेको प्रदर्शनपछिको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको पत्नी सुजन रजकलाई सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको बताएका छन् ।

मंगलबार मन्त्रालयमा सुरेशको परिवारहरूसँग भेट्दै उनले सुरेशको सन्दर्भमा केही गर्न पाए हुन्थ्यो भनेर मन्त्रालयमा कुरा भइरहेको भन्दै तत्कालका लागि सुरेशकी धर्मपत्नी सुजन रजकलाई रोजगारी दिएर थोरै भएपनि सान्त्वना दिन खोजेको बताए ।

उनले भने, ‘चैत्र १५ गतेको घटनामा सुरेशले जसरी काम गरिरहेका थिए, त्यो सबैले देखेकै हो । सुरेशको सन्दर्भमा केही गर्न पाए हुन्थ्यो भनेर मन्त्रालयलाई पनि लागेको थियो । त्यस कारण अहिले तत्कालको लागि सुरेशकी धर्मपत्नी सुजनको सन्दर्भमा एउटा रोजगारीको सुरुवात गर्न पाइयो भने थोरै भए पनि सान्त्वना दिन सकिन्छ कि भनेर उहाँलाई सञ्चार मन्त्रालय अन्तरगत निकायहरूमा राखिएको हो । साथै, उनले सुजनले पढ्ने चाहना राख्ने हो भने पनि त्यसको लागि पनि मन्त्रालयले सम्भव भएसम्म छात्रवृत्ति नभए केही छुट भए पनि उपलब्ध गराउने इच्छा रहेको पनि बताए ।

यस्तै, उनले देशका सच्चा सपुतहरुले बेला बेलामा बलिदानी दिनुपर्ने अवस्था दुखद भएको भन्दै सुरेशप्रति श्रद्धाञ्जली पनि प्रकट गरेका छन् ।

पत्रकारहरू आफ्नो जीवनलाई जोखिममा राखेर देश र जनताको लागि काम गरिरहेको अवस्थामा पत्रकारलाई कसले हेर्ने त भन्ने चुनौतीपूर्ण प्रश्न पनि सबैको सामु रहेको पनि उनको भनाई छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update