काठमाडौं - नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले अध्यक्ष डा. सुजन कडरियालाई पदमुक्त गरेको छ । पदाधिकारी बैठकले कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई नयाँ अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
जेनजी आन्दोलनका क्रममा विद्यार्थी प्रहरीकै गोलीबाट मारिएको घटनाप्रति असन्तुष्टि प्रकट गर्दै कडरियाले भदौ २३ गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। यसै घटनालाई सङ्गठनभित्रको ‘टर्निङ पोइन्ट’ मानेर आजको बैठकले उनको राजीनामा औपचारिक रूपमा स्वीकार गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो।
बैठकले वर्तमान उपाध्यक्ष अञ्जना सिवाकोटीलाई महासचिव बनाउने निर्णयसमेत गरेको छ भने अन्य पदाधिकारी यथावत् रहने बताइएको छ। बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य एवं अखिलका इन्चार्ज किशोर विक्रम मल्ल प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

