बाजुरा - संघीय राजधानीमा काठमाडौंमा बाजुरा यूथ कनेक्टद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न भएको छ । बाजुरा घर भई राजधानीमा विभिन्न पेसा, व्यवसाय र अध्ययनको सिलसिलामा रहेका युवाहरू बिच प्रतियोगिता सञ्चालन गरिएको थियो ।
बाजुरा जिल्ला स्तरीय सेभन ए साईड फुटसल प्रतियोगिताको उपाधि भने आयोजकले आफ्नो पोल्टामा पारेको हो । युवाबिच आपसी सद्भाव, भेटघाट र भाइचाराको सम्बन्ध स्थापित गर्न पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको सञ्जालका सचिव अर्जुन जोशीले जानकारी दिए ।
प्रतियोगिताले बाजुराको खेल क्षेत्रमा विकासमा ठुलो सहयोग पुग्ने अपेक्षा समेत लगिएको छ । प्रतियोगितामा बाजुरा घर भई राजधानीमा रहेका करिब १६ टिमको सहभागिता थियो । खेलको उद्घाटन नेपाली फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले गरेका थिए ।
खेल किर्तिपुरको मत्स्यनारायण रिक्रिएसन केन्द्रको फुटसल ग्राउन्डमा सञ्चालन गरिएको थियो । आयोजनामा १ सय ६० बढी खेलाडी सहभागी थिए । प्रतियोगिताको उपाधि भने आयोजक बाजुरा यूथ कनेक्ट ले जित्न सफल भएको हो। भने उपविजेता सूर्य तारा फाउन्डेसन बनेको हो ।
विजेताले नगद ४१ हजार १ सय ११ नगद सहित ट्रफी, प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको सूर्य ताराले १८ हजार १ सय ११ नगद सहित ट्रफी र प्रमाण पत्र हात पारेको हो।खेलमा हिमाल बडुवालले उत्कृष्ट खेलाडीको उपाधि पाए भने आयोजक टिमका मनोज नेपालीले उत्कृष्ट गोल रक्षकको उपाधि पाएका हुन् ।
संघीय राजधानी काठमाडौंमा बाजुराका युवाहरूले आयोजना गरेको प्रतियोगिता निकै महत्त्वपूर्ण र उपलब्धिमूलक मानिएको छ ।
बाजुरा खेल क्षेत्रका लागि सम्भावना बोकेको जिल्लाको रूपमा स्थापित बनेको छ । फुटबलदेखि क्रिकेटसम्म र अन्य एथलेटिक्स खेलहरूमा पनि बाजुरा निकै अगाडि छ ।
खेल क्षेत्रबाटै पहिचान बनाउन र विभिन्न सामाजिक समस्याहरूलाई खेल क्षेत्रबाट समाधान गर्ने गरी प्रतियोगिता सञ्चालन गरिएको आयोजक बाजुरा यूथ कनेक्ट ले जनाएको छ । प्रतियोगिताले एकता र नेतृत्वको विकासमा समेत टेवा पुर्याएको छ ।

