Harsamaya
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने 
नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल ।

काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने भएको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्व पदाधिकारीहरुको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले जानकारी दिए । 

उनले पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि अपिल प्रकाशित गर्ने पनि निर्णय भएको जानकारी दिए । त्यस्तै एकताको सन्दर्भमा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टीलाई एकढिक्का बनाउने निर्णय भएको उनले बताए । 

अन्तर पार्टी निर्देशन जारी गर्दा एकता सन्देश कार्यक्रमको मोडालिटी समेत उल्लेख गरिने जानकारी दिदैं खनालले एकता सन्देश सभाको व्यानरमा कार्यक्रम गरिने उल्लेख गरे । आफूहरुको एकता कसैको विरुद्ध नभइ आम जनतालाई जागृत र संगठीत गर्दै समाजवादको बाटोको अर्जुनदृष्टिका साथ अघि बढ्ने यात्रा भएको उनले बताए । 

खनालले अशोक राई र उपेन्द्र यादवको पाटीसँग कुराकानी भइरहेको भन्दै केही अवधिभित्र एकीकृत हुने विश्वास व्यक्त गरे । उनले आफूहरुले बनाएको पार्टी सबै पुस्ताको पार्टी भएको भएकाले बुढाहरुको पाटी भन्न नमिल्ने धारणा राखे । 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update