Harsamaya
रेष्टुरेन्टको मुख्यमन्त्री मान्य नहुने भन्दै सात राजनीतिक दलको विरोध प्रदर्शन, सभामुखको राजीनामा माग
जनकपुरधामस्थित मधेस प्रदेश सभा अगाडि ७ राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरु ।

जनकपुर - जनकपुरधामस्थित मधेस प्रदेश सभा अगाडि ७ राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

शनिबार जनकपुरधाम वडा नं १२ कुवामा भेला भएका ७ राजनीतिक दलका नेता, कार्यकर्ता तथा सांसदहरुले मधेश प्रदेश सभा अगाडि पुगेर प्रदर्शन गरेका छन् । उनीहरुले सभामुख रामचन्द्र मण्डलविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सभामुख मण्डल एमालेका कार्यकर्ता भएको भन्दै प्रदेश सभा खाली गर्न नारा लगाएका छन् ।

महाभियोग दर्ता भइसकेको खण्डमा सभामुख स्वतः निलम्बित भएको भन्दै उनले अब प्रदेश सभामा बस्नु उचित नरेहेको ७ दलीय गठबन्धनका सांसदहरुको भनाई छ । सभामुख मण्डलले प्रदेश सभामा बसेर अनधिकृत रुपमा काम कारवाही गर्दै आएको भन्दै उनीहरुले तत्काल सभामुखले प्रदेश सभा खाली गर्नु पर्ने उनीहरुको माग छ ।

त्यस्तै उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवलाई जंगली मुख्यमन्त्रीको संज्ञा दिँदै रेष्टुरेन्टको मुख्यमन्त्री मान्य नहुने बताएका छन् ।

यता, प्रदेश सभाको भित्र बैठक बस्ने सभा हलमा ताल्चा लागेका कारण उपसभामुख बबिता कुमारी राउत ईसरले उपस्थित सांसदहरुलाई चौरमै बसाएर बैठक सञ्चालन गरेका छन् । सो क्रममा सांसदहरु भुँइमै बसेर सभामा उपस्थिती जनाएका थिए । उपसभामुख राउतले सभामुखमाथि महाभियोग लगाइसकेपछि उनले गरेको निर्णयहरु कुनै कार्यान्वयन नहुने बताएका थिए ।

७ दलिय गठबन्धनका ६४ जना सांसदले सभामुख मण्डलमाथि तीन दिन पहिला महाभियोग दर्ता गराएका थिए । सोही दिन अबेर राती सभामुख मण्डलले पाँच जना सांसदको पद रिक्त भएको पत्र सार्वजनिक गरेका थिए । हिजो मात्र मधेश राजपत्रमा पाँच जना सांसदको पद रिक्त भएको प्रकासित भएको छ । सभामुख र उपसभामुखबीच अहिले द्वन्द्व सृजना भएको छ ।

यता उपसभामुख राउतले आफू सुरक्षित महसुस नगरेको भन्दै प्रदेश सभा भित्र रहेको निवास खाली गरेकी छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update