काठमाडौं - नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणलाई आर्थिक हिसाबले भन्दापनि प्रतियोगितालाई व्यवस्थित गर्नमा जोड दिएका छन् ।
शनिबार नेपाल प्रिमियर लिग २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले दोस्रो संस्करणमा प्रवेश गरिरहँदा ठूलो आर्थिक अपेक्षा भन्दा पनि प्रतियोगितालाई व्यवस्थित गर्नमा जोड दिनुपर्ने धारणा राखेका हुन् । खड्काले आठ वटा टिमहरुको लगानी अनुसार आर्थिक संरचना बनिसकेकाले अब खेललाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘आर्थिक संरचनालाई पूर्णता दिने क्रममा आठ वटा टीमहरुको लगानी छ । गतसाल पनि क्यानले सय करोड, एक अर्वको ट्रान्जेक्सन भएको अनुमान गरेको थियो । आठ वटा टिमले गरेको लगानीमा एउटा राम्रो आर्थिक संरचना बनिसकेको छ । थप पूर्णता दिनेक्रममा भर्खरै दोस्रो संस्करणमा प्रवेश गर्दैछौ । अहिले नै क्रिकेटको कायापलट हुने भयो भन्दा पनि प्रतियोगितालाई अझ व्यवस्थित कसरी गर्ने भन्ने कुरा प्रमुख हो ।’
उनले आफ्नो क्षमता अनुसार काम र कर्तव्य पूरा गर्ने कोसिस गरेको भन्दै नेपाल प्रिमियर लिग दोस्रो संस्करण सकिएपछि यसको मूल्याङ्कन गर्ने बताए ।
एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि भने पहिलो संस्करणकै कायम राखिएको खड्काले जानकारी दिए । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो ।
उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो ।
क्यानले यसपटक ४० करोड बराबर रकम उठाउने लक्ष्य लिएको छ । पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले १५ करोड ३० करोड प्रायोजकबाट मात्रै उठ्ने अपेक्षा राखिएको बताए ।
एनपीएलको उदघाटन खेल मंसिर १ गते साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

