Harsamaya
निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड
तस्वीरः हर समय/harsamaya

काठमाडौं - प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुले निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । प्रजातान्त्रिक विचार समाजले मुलुकको समसामयिक विषयमा आज आयोजना गरेको अन्तरक्रियाका वक्ताहरुले निर्वाचन अगाडि पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षाका लागि प्रजातान्त्रिक विचार समाज सधैँ अग्रमोर्चामा उभिने बताए । उनले प्रेस स्वतन्त्रता, आवधिक निर्वाचनलाई आत्मसाथ गरेको प्रजातान्त्रिक विचार समाजले पछिल्लो समय आवधिक निर्वाचनलाई स्वीकार गर्न नसकेको बताए ।

वरिष्ठ पत्रकार तारानाथ दाहालले जेनजी आन्दोलन नेपालको प्रजातान्त्रिक इतिहासमा ऐतिहासिक आन्दोलन भएकाले जेनजी आन्दोलनलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताए । आगामी निर्वाचनलाई सफल बनाउनका लागि हामी सबै लाग्नुपर्ने उनको भनाइ थियो । निर्वाचन गराउने दायित्व सरकारसँगै राजनीतिक दलको समेत भएको उनले बताए ।

समाजका संस्थापक सदस्य श्रीहरि अर्यालले कांग्रेसले मुलुकको नेतृत्व गर्नका लागि पार्टीभित्रको विधानलाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो । तत्कालका लागि कांग्रेसले महाधिवेशन गरेर निर्वाचन जानुपर्ने उनको भनाइ थियो ।

वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले संविधानभित्रको समस्याको निकाश खोजेर अगाडि बढ्नुपर्ने अवस्था आएको बताए । राजनीतिक पार्टीले संविधान संशोधनको एजेण्डालाई लिएर अदालतमा जानसके संसद् पुनःस्थापना हुन सक्नेतर्फ उनको संकेत थियो । कांग्रेसभित्र नेतृत्व परिवर्तन गरेर निर्वाचन जानुपर्ने पनि उनले थपे ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पार्टीले बौद्धिक समाजसँग छलफल गर्न छाडेको बताए । उनले भदौ २३ र २४  गतेको घटनालाई पार्टीले सुक्ष्म रुपले अध्ययन गर्नुपर्ने बताए । पार्टीभित्र अनुहार मात्र फेरेर नहुने प्रवृत्तिगत परिवर्तन सुधार आवश्यक रहेको उनले उल्लेख गरे । संविधानलाई जोगाउन निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले प्रविधिले राजनीतिलाई ‘गाइड’ गरिरहेको बताए । प्रविधिमा जो अभ्यस्त छैन त्यसलाई पुरानो पुस्ताका रुपमा लिनुपर्ने उनको भनाइ थियो ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले राजनीतिक दलले  विकल्प दिन नसकेकाले जेनजी आन्दोलन भएको बताए । संसद् पुनःस्थापनाभन्दा निर्वाचनमै दल जानुपर्ने उनले बताए । उनले आमनागरिकमा आशा जगाउने नयाँ कार्यक्रम र नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्ने उल्लेख गरे ।

राजनीतिक विश्लेषक विनोद भट्टराईले पार्टीका नेताभित्र इच्छाशक्ति भए कांग्रेस १५औँ महाधिवेशन समयमै सम्पन्न गर्न सकिने बताए । कांग्रेस अहिलेको अवस्थामा यहि नेतृत्वलाई लिएर चुनावमा गए पार्टीले सुखद् नतिजा ल्याउन नसक्ने उनको भनाइ थियो ।

समाजका पूर्वअध्यक्ष जीवराज कोइरालाले देशको परिस्थिति जटिल मोडमा गएकाले कांग्रेसले निर्वाचनअघि महाधिवेशन गरेर निर्वाचनमा होमिनुपर्ने बताए । वरिष्ठ पत्रकार तेजप्रसाद पण्डितले आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेसलाई अगाडि बढाउनुपर्ने बताए । कांग्रेसले नेतृत्व परिवर्तन गरेर निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो ।

समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्यालले विसं २०५२ मा स्थापना भएको समाजले लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसाथ गर्दे अगाडि बढेको बताए । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको बारेमा राय, सुझाव समेट्ने काम समाजले गरिरहेको उनको भनाइ थियो ।

समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले सरकारले प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिसकेकाले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन चुनावी सरकारको भूमिका र निर्वाचनमा दलहरुको सहभागिता सम्बन्धमा समाजले निरन्तर छलफल गर्दै आइरहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update