Harsamaya
इन्द्रावती क्याम्पस नगरको शैक्षिक पहिचानसँग जोडिएको महत्वपूर्ण संस्था - नगरप्रमुख तामाङ
 मेलम्ची नगरप्रमुख आइतमान तामाङ मन्तव्य राख्दै ।

सिन्धुपाल्चोक - मेलम्ची नगरप्रमुख आइतमान तामाङले इन्द्रावती क्याम्पसले स्थानीय युवालाई उच्च शिक्षामा सहज पहुँच दिलाउँदै आएको भन्दै प्रशंसा गरेका छन् । शुक्रबार इन्द्रावती क्याम्पस मेलम्चीको १८औँ वार्षिकोत्सव तथा क्याम्पस सभाको अवसरमा  तामाङले क्याम्पसलाई नगरको शैक्षिक पहिचानसँग जोडिएको महत्वपूर्ण संस्थाको रूपमा प्रस्तुत गरेका छन् । 

उनले आगामी दिनमा शिक्षाको गुणस्तर वृद्धिका लागि सबै क्षेत्रले हातेमालो गर्नुपर्नेमा विशेष जोड दिए । ‘इन्द्रावती क्याम्पसले मेलम्चीका विद्यार्थीलाई घरैमा बसेर गुणस्तरीय शिक्षा हासिल गर्न मार्ग प्रशस्त गरेको छ’, प्रमुख तामाङले भने, ‘शिक्षा नै विकासको आधार भएकाले विद्यार्थीका सीप विकास, प्राविधिक शिक्षा, डिजिटल पहुँच तथा शैक्षिक पूर्वाधार वृद्धि जस्ता क्षेत्रमा नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको छ ।’

त्यसैगरी उपप्रमुख उमा प्रधानले क्याम्पसले समुदाय केन्द्रित शिक्षा विस्तारमा खेलेको भूमिकाको प्रशंसा गरेकी छिन् । उनले विद्यार्थीलाई उत्तरदायी, अनुशासित तथा समाजप्रति संवेदनशील बन्न आग्रह गरिन् । 

क्याम्पस प्रमुख राधाकृष्णा श्रेष्ठले विगत वर्षको शैक्षिक तथा वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले नयाँ शैक्षिक सत्रमा अनुसन्धानमुखी अध्ययन, पाठ्यक्रम सुदृढीकरण तथा विद्यार्थी केन्द्रित कार्यक्रमहरू थप प्रभावकारी रूपमा अघि बढाइने जानकारी दिए । 

 इन्द्रावती क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेश दुलाल (सिपी)को अध्यक्षता सम्पन्न भएको १८ औँ वार्षिकोत्सव  शिक्षाको उन्नयन र संस्थागत विकासमा सामूहिक प्रतिवद्धता पुनः व्यक्त गर्दै सकिएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update