Harsamaya
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल
निर्वाचन आयोग । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनका राजनीतिक दलहरुसँग छलफल गरेको छ ।

आयोगको कार्यालय, कान्तिपथमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत दलका प्रतिनिधि सहभागी छन् । 

आयोगका सचिव माहादेव पन्थले राष्ट्रियसभाको निर्वाचनको प्राविधिक तयारीका विषयमा दलहरूसँग परामर्शपछि निर्वाचन कार्यक्रम ल्याइने बताए । 

सभाको सदस्यको पदावधि सकिनु ३५ दिन अघि निर्वाचन हुनुपर्ने कानुनी व्यवस्था बमोजिम यो निर्वाचन हुन लागेको हो । सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २१ गते सकिँदैछ । त्यसमध्ये १८ सदस्यमा निर्वाचन हुनेछ भने एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

सभाको निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य, प्रदेशभित्रका स्थानीय निकायका अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख रहनेछन् । प्रत्येक प्रदेशसभा सदस्यको मतभार ४८ र अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुखको मत भार १८ हुन्छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update