Harsamaya
७ दलीय गठबन्धनले विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्दै
मधेश प्रदेशका ७ राजनितिक दलका नेताहरू ।

जनकपुर - मधेश प्रदेशमा हालै बनेको ७ राजनितिक दलहरुको गठबन्धनले आज जनकपुरधामसहित प्रदेशभर विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ । हिजो अबेर राति प्रेस विज्ञप्ती जारी गर्दै सात दलिय गठबन्धनले आज बिहान ८:३० बजे देखि विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएको छ ।

सात दलीय गठबन्धनमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी रहेको छ । उनीहरुले आज गर्ने विरोध प्रदर्शनमा सहभागी हुन घटक दलका सम्पूर्ण नेता तथा कार्यकर्ता एवं न्याय प्रेमी जनतालाई आग्रह गरेका छन् ।

हिजो बेलुकी मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामस्थित मधेश भवनभित्र अस्थायी रुपमा बनाइएको मुख्मन्त्री कार्यालयमा पदभार ग्रहण गरेका थिए । 

सोही समयमा मधेश भवन अगाडि ७ राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरिरहेका थिए । प्रदर्शन भइरहेकै समयमा सुरक्षाकर्मीले लाठी चार्ज सुरु गरेपछि दजर्न बढी नेता कार्यकर्ताहरु घाईते भएका छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एक जना नेताको खुट्टा नै भाँचेको छ । समाचार संकलनका लागि गएका एक जना सञ्चारकर्मीको पनि टाउको फुटेको छ ।

सात दलिय गठबन्धनले तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले असंवैधानिक तरिकाबाट सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै नियुक्ति खारेजी गर्नु पर्ने माग राखेको छ । उनीहरुले हिजो भएको लाठी चार्जमा संलग्न सुरक्षाकर्मीहरुलाई पनि कारवाही गर्नुपर्ने माग अघि सारेका छन् । 

उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवसहित मन्त्रीपरिषदका अन्य सदस्यहरुलाई सार्वजनिक रुपमा बहिस्कार र विरोध गर्ने विज्ञप्तीमा उल्लेख रहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update