काठमाडौं - म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुङ्गा थाइल्यान्ड–मलेसिया समुद्री सिमानानजिकै डुब्दा कम्तीमा सात जनाको मृत्यु भएको छ । ३०० जना बेपत्ता भएको मलेसियाको समुद्री सुरक्षा विभागले जनाएको छ ।
मलेसियाको समुद्री सुरक्षा विभागका अनुसार, उद्धार टोलीहरूले आइतबार पाँच महिला र एक बालिकासहित सात वटा शव फेला पारेका छन् । टोलीले अहिलेसम्म १३ जनालाई जीवितै उद्धार गरेको छ ।
म्यानमारको बुथिडाउङबाट आप्रवासीहरूलाई लिएर हिँडेको डुङ्गामा करिब ३०० मानिस सवार थिए । दुर्घटना तीन दिनअघि भए पनि पीडितहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ ।
मलेसिया जाँदै गरेका यी मानिसहरूलाई सुरुमा एउटा ठूलो जहाजमा चढाइएको र सीमानजिक पुगेपछि उनीहरूलाई साना–साना डुङ्गाहरूमा राखिएको पाइएको छ । प्रत्येक डुङ्गामा करिब १०० जना थिए । सुरक्षा र निगरानी अधिकारीहरूको आँखा छल्न यस्तो गरिएको बताइएको छ ।

