Harsamaya
पूर्वमन्त्री आलमको शव रौतहट पुर्याइयो, मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिने
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव ।

रौतहट - नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव रौतहट पुर्याइएको छ । 

काठमाडौँको के.एम.सी. अस्पतालमा लामो समयदेखि उपचाररत रहेका आलमको शनिबार बिहान निधन भएको हो । उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि गृह जिल्ला रौतहटको क्षेत्र न .२ राजपुर फरहदवामा ल्याइएको छ ।

उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघि  देखि अस्पतालमा भर्ना गरिएको थियो ।

काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा आलमको शनिबार बिहान निधन भएको नेपाली कांग्रेस रौतहटले जनाएको छ । आलमको पैत्रिक गाउँमा  पार्थिव शरीर आइपुगेको छ भने गाउँले शोकमा छन् ।

उनको निधनको खबर संगै गाउँमा शुभचिन्तकहरुको भिड लागेको छ भने पुरै क्षेत्र शोकमा डुबेको छ । उनको आजै मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ।आलमका दुई छोरा र एक छोरी छन् । 

जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update