Harsamaya
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको जलेर मृत्यु
टिपर दुर्घटनाग्रस्त।

रामेछाप - काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारी सडकखण्डमा आज बिहान भएको टिपर दुर्घटनामा चालक किसिम राईको जलेर मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बा ५ ख ४०७२ नम्बरको टिपर सडकबाट करिब १५० मिटर तल भिरमा खस्दा आगलागी भएको थियो । आगोले पुरै टिपर जले पछि चालक मण्डनदेउपुर नगरपालिका–७ झगारपुरका २८ वर्षीय किसिम राईको घटनास्थलमै मृत्यु भएको हो । 

टिपरका सहचालक सोही स्थानका २२ वर्षीय बिक्रम राई गम्भीर घाइते भएका छन् । शरीरका विभिन्न भागमा डढेका बिक्रमलाई स्थानीयले उद्धार गरी तत्काल धुलिखेल अस्पताल पुर्याएका थिए । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

मृतक राईको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ । दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update