काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिन लागेको भनी आएका समाचारप्रति सत्यता नभएको बताएका छन् ।
सोमबार अपराह्न सामाजिक सञ्जालमार्फत उनले मन्त्री पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनले भनेका छन्,‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रस्ट पार्न चाहन्छु । जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’
नयाँ राजनीतिक दल खोल्न मन्त्री पदबाट राजीनामा दिन लागेको भन्ने आशयका समाचारहरूप्रति घिसिङले प्रस्टीकरण दिएका हुन् ।

