Harsamaya
घरबाट बाहिर गएका सन्तानलाई घर आउँछु भन्दा अनुमति लिनु पर्दैन, ढोका सँधै खुला छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेल ।

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेबाट अलग भएकाहरुका लागि एमालेको ढोका सधैँ खुला रहेको बताएका छन् । 

सोमबार नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद कार्यक्रममा उनले घरबाट बाहिर गएका सन्तानलाई घर आउँछु भन्दा अनुमति लिनु नपर्ने भन्दै एमालेबाट अलग भएकाहरुलाई आफ्नै घर फर्किनको लागि कुनै एकता गरि रहन नपर्ने बताए । 

उनले भने, ‘नेकपा एमालेबाट अलग भएका साथीहरुको सन्दर्भमा केन्द्रीय कमिटिको बैठकबाट नै निर्णय गरेका छौं । आफ्नै घर फर्किने हो, आफ्नै घर फर्किनको लागि कुनै एकता गरि रहनु पर्दैन् । घरका सन्तान बाहिर गएपछि घर आउछुभन्दा अनुमति लिनुपर्छ, पर्दैन् । आउँदा क्षमता अनुसार पार्टीले जिम्मेवारी दिन्छ ।’यस्तै, उनले माओवादी केन्द्र, एकीकृत समाजवादी आदी पार्टीहरु एक हुन लागेको कुरामा आफू खुशी रहेको बताए । 

‘माओवादी, एकीकृत समाजवादी आदी पार्टीहरु एक हुन थाले भन्ने कुरा छ । खुसी नै छु । किनभने बलियो राजनीतिक दलमा विश्वास गर्ने मान्छे हुँ । तर उद्देश्य स्पष्ट नभएसम्म जति नै पार्टी मिलेपनि केही हुदैँन् । विचारमा एक रुपता हुन्छ भने अलग अलग बस्नु फाइदा छैन् । विचारमा एक रुपता नभएकाहरु एक ठाँउमा बस्नु भनेको आन्दोलन समाप्त पार्नु हो । के हुन्छ भन्ने भविष्यको कुरा हो ।’

साथै, उनले २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्ने भन्दै त्यो सभाबाट जनता कसको साथमा छ त्यो देखाउन चाहेको बताए । 

उनले भने, ‘मंसिर २७, २८ र २९ गते पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनको आयोजना गर्दैछौ । अहिले नेपाली जनता प्रमुख पार्टीबाट टाढा भएका छन् भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ त्यो गलत हो भन्ने हिसाबले २२ गते देशभर सबै वडाहरुमा एकसाथ वडास्तरीय जनभेलाहरु आयोजना गर्दैछौ । २५ गते पालिकाहरुमा जनर्‍यालीहरु आयोजना गर्दैछौ, २९ गते जिल्लाहरुमा जनसभा आयोजना गर्दैछौ । काठमाडौंको हकमा ६ गते उपत्यका स्तरीय र्‍याली तथा सभाको आयोजना गर्दैछौ र २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्ने छौ । त्यो सभाबाट जनता कसको साथमा छ त्यो देखाउन चाहन्छौ ।’

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update