Harsamaya
नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारी : सेवाप्रदायक छनोट गर्न टेन्डर आह्वान
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा मर्मतका निम्ति सेवाप्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरिएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार (कात्तिक १६) अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवाप्रदायक छनोटका निम्ति टेन्डर आह्वान गरेको हो ।

बोलपत्र बुझाउने अन्तिम दिन आउँदो पुस २ (डिसेम्बर १७) गते तोकिएको छ । सुरुङमार्गमार्फत सवारीसाधन चलाउन सक्ने अवस्था भएता पनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण सञ्चालनमा ल्याइएको छैन ।

मुख्य सुरुङमार्गको लम्बाइ २.७ र आपत्कालीनको २.६ किलोमिटर छ । सरकारले सुरुङमार्गबाट गुड्ने सवारीसाधनका निम्ति सडक उपभोग दस्तुर (टोल) तोकिसकेको छ । सुरुङमा अत्याधुनिक प्रणाली समावेश छ । सडक विभागको हालको कार्यबोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङमार्ग सञ्चालन एवम् मर्मत कठिन हुने जनाइएको छ ।

सोही कारण विशेष तालिमप्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका निम्ति अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवाप्रदायक छनोट गर्न लागिएको आयोजनाले जनाएको छ । सेवाप्रदायकले पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन तथा मर्मत गर्नेछ । 

यो अवधिमा पर्याप्त मात्रामा विदेशी विज्ञबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण गरिनेछ । त्यसपछि भविष्यमा अरू सुरुङ, फास्ट ट्रयाकजस्ता संरचना स्वदेशी जनशक्तिबाटै सञ्चालन गर्न सहज हुने आयोजनाले जनाएको छ ।

सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । सेवाप्रदायकले ‘सिफ्ट’ प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ । यसनिम्ति १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ । सुरुङमार्ग सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ कर्मचारी रहने व्यवस्था गरिएको छ ।

त्यसपछि टोल उठाउन ५४ कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका निम्ति १४, सिभिल तथा अरू संरचना मर्मतका लागि आठ/आठ कर्मचारी रहने व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।

WhatsApp-Image-2025-11-02-at-07.07.35_b96663ce-1762052179.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update