काठमाडौं - नेकपा एमालेको सचिवालय बैठकले मङ्सिरमा हुन लागेको ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ । शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले मङ्सिरमा हुने महाधिवेशन अब काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उनले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै भने, ‘नेकपा एमालेको सचिवालय बैठकले मुख्यतया तीन वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ । पहिलो एजेन्डा चाहिँ पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ गतेदेखि २९ सम्म गर्ने निर्णय गरी नै सकेको छ । त्यो निर्णयलाई थप जोड दिँदै केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ । अब ११ औँ महाधिवेशन पोखराको सट्टामा काठमाडौंमा आयोजना गरिनेछ ।’
यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । उपमहासचिव ज्ञवालीले ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने बताए ।
उनले प्रतिनिधि चयन मङ्सिर १३ गते शनिबार देशभर एकै दिन हुने बताए । प्रतिनिधिको विवरण मङ्सिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने उनले बताए ।

