Harsamaya
प्रशासन भन्यो - अत्यावश्यकबाहेक नारायणगढ-मुग्लिन खण्डमा यात्रा नगर्नू 
नारायाण्ढ-मुग्लिन सडकखण्ड ।

चितवन - अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ-मुग्लिन र पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा यात्रा नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ एक सूचना जारी गर्दै वर्षासँगै बिहीबारदेखि स-साना पहिरोहरू निरन्तर खसिरहेकाले अत्यावश्यकबाहेक सकरभर यात्रा नगर्न सबैलाई अनुरोध गरेको हो ।  

हाल नारायणगढ-मुग्लिन सडकको तुइनभिर र पृथ्वीराजमार्गको मुग्लिन-मलेखु सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाइ सवारी आवागमन सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो । तथापि उक्त खण्ड पहिरोको उच्च जोखिममा पर्ने र पहिरो पनि खसिरहेकाले सकभर यात्रा नगर्न र गर्नैपरे सावधानी अपनाउन उनले आग्रह गरे ।

वर्षा निरन्तर भई पहिरोको जोखिम कायमै हुने अवस्था भएमा नारायणगढ-मुग्लिन र मुग्लिन-मलेखु खण्डमा कुनै पनि बेला सवारी आवागमन बन्द गर्न सकिने उनले बताए । उक्त सडकमा यात्रा गर्नुपूर्व जानकारी लिएर मात्र गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

यात्रा गर्नपूर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।  
 

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update