Harsamaya
मुस्ताङ र मनाङमा भारी वर्षा, राति बागमती, गण्डकी र कर्णालीमा ठूलो पानी पर्ने
जल तथा मौसम विज्ञान विभाग । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ । 
    
जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज मनाङ र मुस्ताङमा भारी वर्षा अभिलेख भएको हो । 

विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४.४ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा भएको छ । पचास मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षामा मापन गर्ने गरिन्छ । 

अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको विभागले जनाएको छ । डोल्पाको दुनैमा ३६, जुम्लामा १३ मिलिमिटर वर्षा भएको छ ।
 
पछिल्लो १२ घण्टामै बागलुङ, पर्वतमा २४ मिलिमिटर, प्यूठानमा २१.८ मिलिमिटर, सिन्धुपाल्चोकमा २९.६ मिलिमिटर वर्षा भएको छ । चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा भएको छ । हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छभने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा चिसो बढे पनि वर्षा भने हल्का भएको छ । 

आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update