बाजुरा - बाजुराको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बाजुरामा समस्यासँगै अथाह सम्भावना पनि रहेको बताएका छन् । प्रथम छेडेदह क्रिकेट कप प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘बाजुरा हरेक समस्या सँगै गुज्रिरहेको छ । ती समस्या साथ अनेकौँ सम्भावनाहरू पनि छन् । अब हरेक सम्भावनाहरूको उजागर गर्न जरुरी छ ।’ मेयर बोहराले भने, ‘विभिन्न प्रतियोगिताका माध्यमद्वारा अनेकौँ सम्भावनाहरूको उजागर गर्नेछौँ ।’
बाजुरा खेलकुद क्षेत्रमा अझै अब्बल रहेको बताउँदै नगर प्रमुख बोहराले बाजुरालाई खेल क्षेत्रकै माध्यमबाट विश्वसामु चिनाउन आफू कुनै कदम पछि नहट्ने बताएका हुन् । उनले भने, ‘बाजुरामा खेल क्षेत्रमा भविष्य बोकेका थुप्रै खेलाडीहरू छन् । ती खेलाडीहरूको सपना जसरी पनि साकार पार्नेछौ ।’
खेल क्षेत्र समाज विकासको एक महत्त्वपूर्ण आधार भएकोले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नु पर्ने कुरामा उनले जोड दिए । खेल क्षेत्रको विकासमा सम्बन्धित स्थानीय सरकारले आधार निमार्ण गर्न जिम्मेवार बन्नुपर्ने बताउँदै उनले आफूले आफ्नो बुढिनन्दाको खेल क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको समेत बताए ।
साथै, उनले सिङ्गो जिल्लाको खेल क्षेत्रको विकासको लागि सम्पूर्ण राजनीतिक दल, सरोकारवाला निकाय, स्थानीय सबैले ध्यान दिन जरुरी रहेको बताए ।

