Harsamaya
नेपाल सम्वतले नेपाली मौलिकता, राष्ट्रियता र सामाजिक इतिहास बोकेको छ : प्रधानमन्त्री
नेपाल सम्वत् ११४६ न्हूदँ समारोह समितिको आयोजनामा मंगलबजारमा समारोह।

काठमाडौं - नेपाल सम्वत् ११४६ न्हूदँ समारोह समितिको आयोजनामा मंगलबजारमा भव्य समारोह सम्पन्न भएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले देश र समाजप्रतिको सामाजिक उत्तरदायित्व र एकताको सन्देश दिएकी  छन् ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत् राष्ट्रको मौलिक पहिचान, गौरव र सामाजिक न्यायको प्रतिक भएको बताउँदै यसको संवर्धन र प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

‘नेपाल संवत् नेपाली धर्तीमा जन्मिएको संवत् हो । यसले नेपाली मौलिकता, राष्ट्रियता र सामाजिक इतिहास बोकेको छ,’ प्रधानमन्त्रीले भनिन्, ‘शंखधर साख्वाःले देखाउनुभएको सामाजिक एकता, त्याग र परोपकारको बाटो आज पनि हाम्रो मार्गदर्शक बन्न सक्छ ।’

प्रधानमन्त्री कार्कीले सम्वत्का प्रवर्तक शंखधर साख्वाःको सामाजिक योगदानको उच्च प्रशंसा गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिन् । उनले करिब ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा ऋणमा परेका नागरिकहरूको ऋणमोचन गरीसामाजिक न्यायको ऐतिहासिक उदाहरण प्रस्तुत गरेको स्मरण गराइन् ।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले पछिल्लो समय देशमा देखिएको राजनीतिक सचेतना र नागरिक आन्दोलनप्रति पनि प्रतिक्रिया जनाउँदै भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् ।

प्रधानमन्त्रीले नागरिक सरकारको प्रमुख जिम्मेवारी संविधानको दायरामा रही सुशासनको सुनिश्चितता गरेको उल्लेख गर्दै आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउने प्रतिवद्धता दोहोर्याइन् ।

कार्यक्रममा विविध सांस्कृतिक झाँकी र प्रस्तुतिहरू समेत देखाइएको थियो । समारोहमा विभिन्न सम्मानित व्यक्तित्व तथा संस्थाहरुलाई नेपाल सम्वत् संरक्षण र समृद्धिमा योगदान पुर्‍याएकोमा सम्मान समेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update