
बाजुरा - बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिका ३ गुम्बा गाउँ जाने बाटोमा पर्ने छिन्दु खोलामा बनेको झोलुङ्गे पुलले यहाँका स्थानीयको युगौँ देखिको समस्या समाधान भएको छ।
‘ज्यानमारा खोला’का रूपमा परिचित उक्त खोलामा लामो समयको अथक प्रयास पछि झोलुङ्गे पुल निर्माण गरिएको थियो। पुल निर्माण पश्चात् यहाँका स्थानीयको दैनिक आवतजावतमा हुने समस्या समाधान भएको हो।
छिन्दु खोलामा सहरी विकास मन्त्रालय अन्तर्गत, स्थानीय पूर्वाधार विकास आयोजना कैलालीले झोलुङ्गे पुल निर्माण गरेको थियो। १ करोड २८ लाख ९ हजार ९ सयमा ठेक्का गरेको र जगदम्बा, सुर्मासरोवर जेभीले ८४ लाख ७५ हजार १ रुपैयाँमा सम्झौता गरी निर्माण कार्य सम्पन्न गरेको थियो।
बाजुराको सर्वाधिक विकट मानिने गुम्बा गाउँ जाने बाटोको छिन्दु खोलाको पुल अहिले स्थानीयको लागी वरदान सावित बनेको छ । छिन्दु खोलामा पुल नहुँदा वर्षेनी मानिसहरू नदीमा बगेर बेपत्ता हुने गरेका थिए । अहिले पुल बनेपछि उक्त समस्या हल हुनुका साथै स्थानीयलाई वारपारमा सहज भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताए ।
उनका अनुसार गुम्बा गाउँ र लाम्पाटा गाउँमा भोटे जनजातिका करिब ३५ घरधुरी परिवार बसोबास गरिरहेका छन् । छिन्दु खोलामा १० वर्षमा ७ जना बगेर बेपत्ता भएका थिए भने कयौँ भेडा, च्याङ्ग्रा, गोरु, भैँसी बगेका थिए। उक्त खोलामा पुल निर्माण नहुँदासम्म बर्षेनी ठुलो धनजनको क्षति हुँदै आएको थियो।
अहिले उक्त खोलामा १७० मिटर लम्बाईको झोलुङ्गे पुल निर्माण भई यहाँका जनता युगौँ देखि भोग्दै आएको आवतजावतको समस्याबाट मुक्त भएका छन् । बाजुराका कयौँ नदीनालाहरूमा झोलुङ्गे पुल नहुँदा बर्षेनी यहाँका स्थानीयले ज्यान जोखिममा राखेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।