Harsamaya
प्राकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौती बनेको छ : मन्त्री घिसिङ
भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्री कुलमान घिसिङ ।

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्री कुलमान घिसिङले प्रकोपहरूको जोखिम व्यवस्थापनमा मुख्य कुरा पानीको स्रोतको व्यवस्थापन रहेको बताएका छन् । 

मङ्गलवार काठमाडौंमा आयोजित विपद् जोखिम न्यूनीकरण सम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उनले प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापनको लागि पानीको स्रोतको व्यवस्थापन गर्नुपर्ने भन्दै यसलाई माथिदेखि तलसम्म नहेर्ने हो भने यस्तो प्रकारको प्रकोप सधैँ भइरहने बताए । 

उनले भने, ‘प्राकृतिक प्रकोप एवं विपद् आउनु भन्दा अगाडि नै त्यसका समाधानहरू के के हुन सक्छन्, त्यसको खतरा कम गर्ने उपायहरू के–के हुनसक्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापन भनेको पानीको स्रोतको व्यवस्थापन हो । यसलाई माथिदेखि तलसम्म नहेर्ने हो भने यस्तो प्रकारको प्रकोप सधैँ भइरहन्छ । नदी प्रणालीलाई व्यवस्थापन गर्नुपर्ने थियो त्यो भएन ।’

यस्तै, उनले गाउँमा सबै स्थानमा सडक पुगे पनि एक दिनको वर्षाले सबै ध्वस्त भएको भन्दै पूर्वाधार व्यवस्थापन पनि एकदमै चुनौतीपूर्ण देखिएको बताए । 

उनले भने, ‘अहिले सबै गाउँमा रोड पुगेको छ तर तिर रोडहरू एक दिनको वर्षाले ध्वस्त भएको छ । केन्द्र सरकारले हाइवे हेर्ने भन्छ त्यसको पनि केही बाँकी छैन सबै बनाउनु पर्छ । स्थानीय र प्रदेश सरकारले बनाएका रोडको पनि नाम निसान नै छैन । कहिले बनाउने के गर्ने यो कुरा महत्त्वपूर्ण छ । खानेपानीको अवस्था उस्तै छ । त्यसैले पूर्वाधारको व्यवस्थापन पनि एकदमै चुनौती पूर्ण देखिएको छ ।’

घरहरू कहाँ बनाउने, बस्ती कहाँ राख्ने भन्ने अध्ययन गरेर नक्सा बनाउनुपर्ने भन्दै एकदमै खतरा भएको स्थानको बस्तीलाई हटाउनुपर्ने उनको भनाई छ । 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update