Harsamaya
परराष्ट्र मन्त्रालयले भन्यो– विपिन जोशीको अवस्था अज्ञात
बिपिन जोशी ।

काठमाडौं - परराष्ट्र मन्त्रालयले  विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी बिपिन जोशीको अवस्था अज्ञात रहेको जनाएको छ । आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ)ले इजरायलका लागि नेपाली राजदूत, जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक गरेको थियो । उक्त बैठकमा इजरायली सेनाले आज रिहा हुने बन्दीमा जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएको मन्त्रालयले जनाएको छ । 

इजरायल र हमासबिच ७ अक्टोबर २०२३ देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’ को प्रथम चरणअन्तर्गत आज बन्दी आदान-प्रदान गरिएको हो ।

हमासको कब्जामा रहेका इजरायलको ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशी पनि हमासले रिहा गर्ने बन्दीहरूको सूचीमा रहने अपेक्षा गरिएको थियो ।

यस सन्दर्भमा निजको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत दुई वर्षदेखि विभिन्न तहबाट कूटनीतिक प्रयास गरेको थियो ।

हमासको कब्जामा रहेका सबै जीवित बन्दीको रिहाइ र मृतक बन्दीको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म मन्त्रालयले यस विषयमा निरन्तर जानकारी अद्यावधिक गर्ने जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update