Harsamaya

काठमाडौं - जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारको मुख्य जिम्मेवारी आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गराउनु हो । सोही अनुसार सरकारले तयारी गरिरहेको दाबी गरेको छ ।

भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्नेक्रममा निर्वाचन गराइछाड्ने अठोट समेत लिएकी छन् । यता, निर्वाचन आयोगले पनि घोषित प्रतिनिधिसभाको चुनावसम्बन्धी कार्यतालिका सार्वजनिक गरेर काम थालेको जनाएको छ ।

अध्यादेशमार्फत्‌ ऐनमा संशोधन गरिएपछि आयोगले अहिले मतदाता नामावली सङ्कलन गरिरहेको छ । चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन गर्न नपाइने व्यवस्थामा परिवर्तन गरी अध्यादेश ल्याइएको थियो ।

कार्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन जारी रहने आयोगले जनाएको छ । विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुगेका नागरिक मतदान गर्न पाउने छन्। निर्वाचनको तालिका नै तयार भएर काम सुरु भएपनि मुख्य दलहरुसँग सरकारले संवाद सुरु नगर्दा संशय पैदा भएको छ ।

नयाँ मतदाता नामावली सूचिमा आफ्नो नाम दर्ता गराउन निर्वाचन आयोगको सम्बन्धित कार्यालयहरुमा छिटपुट मात्र युवाहरुको उपस्थिति देखिन्छ । चुनाव हुने वा नहुने अन्योलमा रहेकाले आयोगका कार्यालयहरुमा नयाँ नाम दर्ता गराउनेहरुको उल्लेख्य उपस्थिति देखिदैन् ।

अनलाइन फारम भरिसकेपछि आयोगको जुनसुकै कार्यालयमा गएर मतादाता नामावलीमा नाम लेखाउने सक्ने भएपनि त्यसपछिको प्रक्रियाका लागि कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिनका लागि युवाहरुको उपस्थिति उल्लेख्य देखिएको छैन् ।

आइतबार ललितपुरस्थित निर्वाचन आयोगको कार्यालयमा न्यून संख्यामा मात्र युवाहरु नाम दर्ताका लागि उपस्थित थिए । त्यसमध्येका नाम दर्ता गराउन पुगेका खोटाङका मिसन कार्की निर्वाचन हुनेमा विश्वस्त छन् ।

‘मेरो घर खोटाङ हो । वायोमेट्रिकका लागि आएको छु । पहिलो पटक भोट दिने तयारीमा छु । निर्वाचन हुन्छ भन्ने कुरामा विश्वस्त छु र हुनुपनि पर्छ,’ उनले भने ।

जेनजी आन्दोलनको उपलब्धी पनि निर्वाचन गराउनु भएको भन्दै उनले भने, ‘अब देशको नेतृत्व भिजनरि भएको जेनजी नै आउनु पर्छ । विदेशमा बस्ने नेपालीहरुले भोट हाल्न पाउनुपर्छ । त्यसका लागि आबश्यक कागजात मिलाउनुपर्छ । सबै कागजात मिल्यो भने सबेैले भोट हाल्न पाउँछन् । मतको सही सदुपयोग हुनुपर्छ । त्यसका लागि हामी गाउँ गाउँमा गएर सबैलाइ सचेत बनाउनसक्नुपर्छ । परिवर्तनको सुरुवात हामी बाटै हुनुपर्छ । जेनजी अगाडि आउनुपर्छ ।’

पहिलो पटक नाम दर्ता गराउन पुगेका पाटनका विशेष जोशी निर्वाचन हुनेमा विश्वस्त छन् । उनी अबको नेतृत्व युवा पुस्ताले नै लिनुपर्नेमा जोड दिन्छन् । ‘अबको नेतृत्व भनेको युवा पुस्ताले लिनुपर्छ । भ्रष्टाचार रोक्नुपर्छ । राम्रो मान्छे अगाडि आउनुपर्छ ।’ -आंकाक्षा धामी

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update