-1746085075.jpg)
काठमाडौं - नेपाली कांग्रेसभित्र अहिले महाधिवेशनको विषय जोडतोडले उठेको छ । जेनजी प्रदर्शनले ल्याएको तंरगले काँग्रेसभित्र पनि शक्ति संघर्ष सुरु भएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागसहित देशव्यापी हस्ताक्षर अभियान अघि बढाइरहेका बेला वरिष्ठ नेता डा. शेखर कोइराला र पूर्वमहामन्त्री कृष्ण सिटौला भने सो अभियानमाथि शंका व्यक्त गर्दै नियमित महाधिवेशनमै अडान लिएका छन् ।
डा. कोइराला समूहका नेताहरूले ‘विशेष महाधिवेशन’ अहिलेको राजनीतिक र संगठनात्मक सन्तुलनका लागि घातक हुने चेतावनी दिएका छन् । उनीहरूका अनुसार, चार वर्षे कार्यकाल यही मंसिरमा पूरा हुने भएकाले विधानअनुसार नियमित महाधिवेशन गरेरै नयाँ नेतृत्व चयन गर्नुपर्छ ।
डा. कोइरालानिकट केन्द्रीय सदस्य सञ्जय गौतमले भने, ‘विशेष महाधिवेशन तत्कालै पार्टीमा विग्रह ल्याउने काम हो, यसले भविष्यमा फुटसम्म पुर्याउन सक्छ । हामी विधिसम्मत रूपमा नियमित महाधिवेशनको पक्षमा छौं।’ उनले आफ्नो समूहका नेताहरूले हस्ताक्षर गरेको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारे ।
यसैबीच, वरिष्ठ नेता कृष्ण सिटौलाले पनि हस्ताक्षर अभियानले पार्टीमा विभाजनको जोखिम बढाएको बताएका छन् । उपसभापति पूर्णबहादुर खड्कासँगको भेटमा सिटौलाले भने, ‘महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टीभित्र आगो सल्काउन सक्छ, अहिलेको आवश्यकता एकता र संयम हो।’
सिटौलाले जेनजी आन्दोलनको क्रममा पार्टी कार्यालयमा लागेको आगोलाई स्मरण गर्दै भने, ‘त्यो आगो भौतिक थियो, तर अहिले संगठनमै आगो सल्काउने तयारी भइरहेको छ ।’
कोइरालानिकट केन्द्रीय सदस्य प्राडा. गोविन्दराज पोखरेलले पनि मंसिरमा नियमित महाधिवेशन गर्ने कार्यतालिका नै सार्वजनिक गरेका छन् । पाँच बुँदामा कुन बेला के गर्ने भन्ने विषय उल्लेख गरेका छन् ।
यता, गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनले पार्टीमा नयाँ नेतृत्व र सोचको सुरुवात गर्ने बताउँछन् । उनीहरूले ५० प्रतिशतभन्दा बढी कार्यकर्ताको समर्थन जुटाइसकेको दाबी गर्दै देउवा नेतृत्वमाथि दबाब सिर्जना गर्न खोजेका छन् ।
तर, डा. कोइरालाले हालैको पदाधिकारी बैठकमा भनेका थिए, ‘विधानले तोकेको समय यही मंसिर हो, त्यस अघि वा पछि होइन यही समयमा नै नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्नुपर्छ।’
यसरी, नेपाली कांग्रेसभित्र अहिले महाधिवेशनको स्वरूपलाई लिएर दुई धार स्पष्ट देखिएका छन्, गगन–विश्वप्रकाशको ‘विशेष महाधिवेशन’ र शेखरको ‘नियमित महाधिवेशन’ ।
दुवै पक्षले पार्टीको हीतका लागि आफूहरू सही रहेको दाबी गरे पनि यो विवादले कांग्रेसभित्र आगामी सत्ता समीकरण र नेतृत्व प्रतिस्पर्धाको दिशानिर्देश तय गर्ने निश्चित देखिन्छ ।