-1758540736.jpg)
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा नभई धेरै नोक्सान हुने भन्दै गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजी पुस्तालाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले अहिलेको परिपक्षेमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न जेन–जी पुस्तालाई आग्रह गरे ।
उनले लेखेका छन् ,‘राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन नि झनै धेरै नोक्सान हुन्छ। त्यसैले अहिलेको परिपेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगरौँ भन्ने मेरो अनुरोध जेन–जी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरूलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान गर्यो भने कसलाई फाइदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पाना बाट पनि सिकौँ।’
उनले जेनजीहरुमा देशमा सुशासन ल्याउने र भ्रष्टाचार निर्मूल पार्ने चाहना भएको भन्दै त्यो चाहाना पूरा गर्न जेनजीहरु भित्रकै एकता आवश्यक रहेको बताए । जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हाबी भएको उनको भनाई छ ।
‘तपाईँहरू भनेको एउटा निश्चित उमेरको युवाहरूको समूह हो । तपाईँहरूको राजनीतिक सङ्गठन छैन। तपाईँहरूले देशमा सुशासन ल्याउन चाहनु हुन्छ र भ्रष्टाचार निर्मूल पार्न चाहनु हुन्छ। अनि तपाईँहरूले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नु भएको छ। यो सपना पुरा गर्नको लागि तपाईँहरूमा एकताको अत्यन्तै खाँचो देखेको छु। किन भने तपाइहरू बिचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हाबी हुँदैछ। मातृभूमिको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु की नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहर्याउनु होस्।’उनले भने