काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रहरीमा निवेदन दिएको छ ।
मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको अखिलको टोलीले उनीहरूविरुद्ध निवेदन दिएको हो । प्रहरीले सरकारी वकिलसँगको सल्लाहपछि दर्ता गर्ने कि नगर्ने निर्णय गर्ने जवाफ दिएको अखिलका महासचिव दीपक धामीले जानकारी दिए । प्रहरीकोमा पुगेको टोलीले राष्ट्रिय धरोहरमा आगजनी गर्ने र दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको बताउँदै तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ ।
२४ घण्टाभित्र जाहेरी दर्ता नगरे त्यसपछि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने र कानुनी उपचारको खोजीमा लाग्ने अखिलका पूर्वअध्यक्ष समीक बडालले जानकारी दिए ।
गत भदौ २४ मा जेनजी आन्दोलनको क्रममा संसद, सिंहदरबारलगायत विभिन्न सरकारी कार्यालयहरू र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।

