Harsamaya

काठमाडौं - सङ्गीतको दुनियाँमा अहिलेको पुस्तामा एक छुट्टै स्थान बनाइसकेकी गायिका, गीतकार, सङ्गीतकार तथा अभिनेत्री सारिका घिमिरे पछिल्लो समय एकदमै चर्चामा छिन् । उनका गीतहरूले जनमानसको मन छुने मात्र होइन, सामाजिक सञ्जालमा पनि व्यापक तहल्का मच्चाइरहेका छन् ।

‘गुन भुल्यौ, पित्तलको सुन पायौ होला’ यही गीतले उनलाई लोकप्रियताको शिखरमा पुर्‍यायो । युट्युबमा लाखौँ भ्यूज, हजारौँ टिकटक र रिलहरू बालकदेखि वृद्धसम्म सबैको ओठमा अहिले यो गीत गुन्जिएको छ । तर गीत–सङ्गीतको व्यस्ततालाई केही समय थाँती राख्दै सारिकाले दशैंको सम्झनामा डुबेका पलहरू सुनाइन् । 

बाल्यकालको दशैं - नयाँ लुगा र पिंङको रमाइलो

‘दशैं भन्नासाथ बाल्यकालको त्यो रमाइलो समय सम्झिन्छु,’ सारिका भन्छिन् । सानो छँदा नयाँ लुगा पाउँदा जति खुसी लाग्थ्यो, त्यो आजको सफलता पाउँदा पनि कहाँ आउँछ र ! ‘दशैं आउँछ भनेर हप्तौँअगाडि नै लुगा किनेर राखिदिन्थे परिवारले,’उनी सम्झिन्छिन्, ‘त्यो लुगा लगाएर गाउँभरि देखाउन जान्थ्यौँ हामी ।’

पिङ खेल्ने, टीका थाप्ने, दक्षिणा लिने — ती सबै कुरा उनलाई अझै पनि हिजोको कुरा जस्तै लाग्छ ।

अहिले जिम्मेवारी बढ्यो, दशैं नर्मलजस्तै लाग्छ

समयसँगै उमेर बढेपछि चाडबाडप्रतिको अनुभूति पनि परिवर्तन भएको छ । अब उनलाई दशैं छुट्टीको समयभन्दा पनि जिम्मेवारी बोकेको चाड जस्तो लाग्छ ।

‘बच्चा बेलाको जस्तो चटारो, तयारी, जोस अब त्यति छैन,’ उनी भन्छिन्, ‘अब त अलिअलि नर्मल लाग्छ, फेरि जिम्मेवारी पनि थपिन्छ नि ।’ तर यति हुँदाहुँदै पनि, उनी भन्छिन् ‘दशैं भनेको नेपालीहरूको साझा चाड हो । सभ्य तरिकाले, खुसीसाथ मनाउनुपर्छ ।’

चाडबाड र संगीत - अटुट सम्बन्ध

गायिकाका लागि चाडबाड गीत–सङ्गीतबिनाको त कल्पना नै गर्न सकिँदैन । ‘दशैं आयो भन्ने बित्तिकै गीत बज्न थाल्छ,’ उनी भन्छिन्, ‘गीत–संगीत बिना चाडबाड खल्लो लाग्छ ।’

उनलाई आफूले गाएको दशैं विशेष गीत नहुनुको थोरै अफसोस पनि छ । ‘सोचेको थिएँ यसपालि एउटा दशैं–तिहारको गीत गरौँ कि भनेर,’ उनी भन्छिन्, ‘तर समय मिलेन, अब अर्को वर्ष गरौँला ।’

विदेश यात्रा होइन, देशमै कार्यक्रम

दशैं–तिहारको समय धेरै कलाकारहरू विदेशमा कार्यक्रम लिएर जान्छन् । तर सारिका भन्छिन्,‘अहिलेसम्म दशैं–तिहारमा विदेश जानु परेको छैन ।’ नेपालमै केही कार्यक्रमहरू भइरहेका छन्, तर देशको समग्र अवस्थाका कारण सबै कुरा नियमितजस्तो नभएको उनी बताउँछिन् ।

सबैका लागि शुभकामना

अन्ततः सारिका सबै नेपालीलाई सन्देश दिन्छिन्, ‘ह्याप्पी दशैं! सबैले आ–आफ्नो ठाउँबाट सुरक्षित, सभ्य र सान्दर्भिक ढङ्गले दशैं मनाउनुहोस् ।’ गीत–सङ्गीतको माध्यमबाट समाजमा चेतना र मनोरञ्जन फैलाइरहेकी सारिका आफैँले अझै धेरै पर्व गीतहरू गाउने सपना बोकेकी छिन् । शायद अर्को वर्ष, दशैंको लहरसँगै सारिका घिमिरेकै स्वरमा नयाँ पर्व गीत गुन्जिरहेको सुन्न पाइएला ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update