Harsamaya
यस वर्ष दसैंमा पनि पानी पर्ने
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँका अवसरमा मनसुनको अवस्था समेटेर आज दसैँ विशेष मौसम बुलेटिन जारी गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट बहिर्गमन भइसकेको छैन । 

हालको मौसम विश्लेषण अनुसार यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने आज साँझ जारी विशेष बुलेटिनमा उल्लेख छ । नेपालमा सरदरमा अक्टोबर २ तारिखमा मनुसन बहिर्गमन हुने भए पनि प्रत्येक वर्ष सो मिति भने फरकफरक हुने विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । 

यही असोज १४ (अष्टमी) का दिन बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । असोज १५ (नवमी) का दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कायस्थले जानकारी दिए । 

उनका अनुसार असोज १६ (दशमी) का दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस वर्षको दसैँको अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भएकाले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरिएको विभागका सूचना अधिकारी कायस्थले बताए । उनले विभागबाट जारी हुने सूचना अध्यावधिक गरी आवश्यक काम कारबाही गर्न अनुरोध गरे । 

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  २१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update