Harsamaya
मलद्वारमा लुकाइ ल्याइएको सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ 

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी त्रिभुवन विमानस्थल कार्यालयबाट खटिएको टोलीले विमानस्थलको आगमन भन्सार क्षेत्रबाट आठ सय ३५ ग्राम सुनसहित ४८ वर्षीय भारतीय नागरिक रोनक मदनीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

इन्डीगो एयरको उडानमार्फत भारतको मुम्बईबाट काठमाडौं आएका मदनीलाई आगमन भन्सार क्षेत्रमा जाँचका क्रममा शङ्का लागेपछि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामङ्गलमा भिडियो एक्स-रे गर्दा मलद्वारबाट तीन वटा डल्लामा रहेको उक्त परिमाण पहेँलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update