Harsamaya
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष आराधना
नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टा। सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौँ - बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विशेष पूजा–आराधना गरिँदैछ ।

पौराणिक ग्रन्थअनुसार शिरमा अर्धचन्द्र र हातमा चन्द्रको आकार भएको घण्ट धारण गर्ने भएकाले यिनको नाम ‘चन्द्रघण्टा’ रहन गएको हो। देवीको स्वरुप पहेँलो वर्णको शान्त, करुणामयी भए पनि यिनी दानवीय शक्तिहरूको नाश गर्ने शक्तिशाली रूपकी रूपमा वर्णन गरिएको छ ।

धर्मशास्त्रीहरूका अनुसार चन्द्रघण्टा देवीको ध्यानले शक्ति, ऐश्वर्य, विद्या प्राप्त हुने विश्वास छ । विशेषगरी संगीत क्षेत्रमा लागेकाहरूले आजको दिन देवीको पूजा आराधना गर्न विशेष महत्त्व दिने गर्छन् ।

यसअघि नवरात्रको पहिलो दिन घटस्थापनासहित शैलपुत्री देवीको, दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो। अब क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री देवीको पूजा हुँदै जानेछ ।

नवरात्रका अवसरमा घरघरमा मात्र नभई देशभरका शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म गरिने यो साधना र आराधना विजयादशमी र कोजाग्रत पूर्णिमासम्म निरन्तर पर्वका रूपमा मनाइन्छ ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update