Harsamaya
नक्खु कारागार नजिक आगजनी रोक्न खोजेको हुँ, गलत आरोप लगाइयो : प्रवक्ता झा

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको छानबिनका लागि सहयोग गर्ने बताएको छ ।

मंगलबार केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता मनिष झाले अरू पार्टीले आफ्ना कार्यकर्ता बचाउन अग्रसर रहेको भन्दै रास्वपाले भने अनुसन्धानमा राज्यलाई सघाउने बताएका हुन् ।

उनले आन्दोलनका क्रममा आफ्ना पार्टीका केही कार्यकर्ताहरूको तस्बिर र भिडियोहरू सार्वजनिक रुपमा आउँदा आत्मालोचनासहित राजीनामा दिएको बताए ।

उनले भने, ‘पोखराका केही घटनाहरूमा केही साथीहरूको तस्बिर र भिडियोहरू आयो । सैद्धान्तिक निर्णय केन्द्रले गरेको आधारमा कास्की जिल्ला समितिले आफैँ दुई जना वडा सभापतिहरूलाई कारबाही गर्‍यो ।’

साथै उनले अरू पार्टी भने कार्यकर्ताको संरक्षण र अपराधि करणको संरक्षण गरिरहेको बताए ।

‘तस्बिर आइसक्यो, भिडियो आइसक्यो, प्रमाणित भइसक्यो, प्रमाणसहित समाचार आइसक्दा पनि अरू पार्टीले आफ्नो कार्यकर्ताको संरक्षण र अपराधि करणको संरक्षण गरिरहेको छ । राज्यले जुन अनुसन्धान, छानबिन गर्दै छ । त्यसलाई सघाउ पुर्‍याउन तयार छौँ । अभियोगहरूका बारेमा छानबिन गर्न आग्रह पनि गर्दछौँ,’ उनले भने ।

उनले नख्खु कारागारमा आगलागी नगर्न रोक्दै गरेको भिडियोमा अरू क्लिप राखेर आफूमाथि गलत आरोप लगाइएको पनि बताए ।

उनले आफ्नै पार्टी सभापति दुई मिटर टाढा रहेको र सभापतिलाई स्वागत गर्न आएको जमातले आगो लगाउँछ कि भन्ने डरले रोक्न गएको बताए ।

उनले आफूमाथि छानबिन गर्न भन्दै भने, ‘मेरो छानबिन नहोस् भनेको होइन, म माथि पनि छानबिन होस् ।’

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update