Harsamaya
बाजुराको ‘बसिबियाँलो घर’ अन्तर मनका भावना बिसाउने चौतारी बन्दै

बाजुरा - जिल्ला प्रहरी कार्यालय बाजुरामा स्थापना गरिएको नागरिक मैत्री पुस्तकालय ‘बसिबियाँलो घर’ पछिल्लो समय मनका भावनाहरू बिसाउने चौतारो बन्दै गएको छ ।

विभिन्न लेखकहरूका रोचक पुस्तकहरू राख्ने गरी स्थापना गरिएको उक्त ‘बसिबियाँलो घर’ मा पछिल्लो समय नागरिकहरू गएर पुस्तक अध्ययन सङ्गै एक–आपसमा मनका भावनाहरू साटासाट गर्ने गरे सङ्गै ‘बसिबियाँलो घर’ मनका भावनाहरू बिसाउने चौतारो बन्दै गएको प्रहरी नायब उपरीक्षक ईकवाल हवारीले बताए ।

उनका अनुसार, तत्कालीन प्रहरी नायव उपरीक्षक डिएसपी दिलीप कुमार गिरीको पालामा स्थापना गरिएको  नागरिकमैत्री पुस्तकालयमा विभिन्न किताबहरूको अध्ययन गर्दै ज्ञान बटुल्नको लागी पछिल्लो समय नागरिकहरूको आकर्षण बढ्दै गएको बताए ।

विभिन्न लेखकका पुस्तक राख्ने गरी प्रहरीकै जनश्रमदान,पुस्तकको लागी जिल्लाका ९ वटै पालिका र भवन निमार्णको लागी बडीमालिका नगरपालिका,हिमाली गाउँपालिका, त्रिवेणी नगरपालिका,उद्योग वाणिज्य संघ,र व्यवसायिहरुको सहयोगमा उक्त नागरिक मैत्री पुस्तकालय निर्माण गरिएको थियो ।

अहिले नागरिक मैत्री पुस्तकालयमा विभिन्न साहित्यिक पुस्तक,राजनीतिक पुस्तक,कला संस्कृति सम्बन्धी पुस्तकहरू,देश तथा विदेशको विद्यमान अवस्थाको चित्रण गरिएका लगायत विभिन्न उत्कृष्ट, मदन पुरस्कार विजेता लगायतका पुस्तकहरू राखिएका छन् ।

नागरिक मैत्री पुस्तकालयको स्थापना र विभिन्न लेखकका पुस्तकहरूको व्यवस्थापन गरिए सङ्गै यहाँका नागरिकहरूलाई जुनसुकै समयमा पनि अध्ययन गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । किताब अध्ययन गर्न निकै सोख भएका व्यक्तिहरूको लागी यस नागरिक मैत्री पुस्तकालयले ठुलो सहयोग गरेको बताइएको छ ।

पुस्तकालयले साथीभाइहरूको गौड्या भेट,मनमा लागेका बहकिने कुरा सुन्दै सुनाउँदै किताबको दुनियाँमा त्यहाँ रमाउन सकिने व्यवस्था छ । साथै सुन्दर मार्तडी बजारको दृश्य अवलोकन पनि गर्न सकिन्छ ।पुस्तकालय भित्र करिब पाँच लाख सम्मका उत्कृष्ट पुस्तक राखिएका छन्। नागरिक मैत्री पुस्तकालयमा जिल्लाका ९ वटै पालिका,विभिन्न संस्था,विद्यालय तथा व्यक्तिले उपलब्ध गराइएका पुस्तक राखिएका छन् ।

निर्माण गरेको पुस्तकालयमा चिया,कफी,मनोरञ्जनका लागि टेलिभिजन,पहिलेको प्रहरी कार्यालयको अवस्था लगायतका दृश्यहरू समेत राखिएका छन् । फुर्सदमा रहेका नागरिकले दिनभर आफूले चाहेका पुस्तक पढ्न पाउने र घरमा लिएर पनि पुस्तक पढ्ने व्यवस्था रहेको छ । उक्त पुस्तकालयबाट नागरिकहरूले आफ्नो समय अनुसार जतिसुकै बेला पनि पुस्तकको अध्ययन गर्न सक्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update