Harsamaya

सिन्धुपाल्चोक - माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाले स्थानीयलाई वितरण गर्नुपर्ने भनिएको सेयर विवाद चर्किएपछि आन्दोलित स्थानीयहरूले बिहीबार भोटेकोसी गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन्।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार आक्रोशित भीडले ढुंगामुढासँगै कार्यालय परिसरमा रहेका टायरमा आगो बालेर आगजनी प्रयाससमेत गरेका थिए। प्रहरी निरीक्षक सुमेश पाण्डेले भने “आगजनी तत्कालै रोकिएको छ, भिड नियन्त्रणमा लिएका छौँ, अहिले स्थिति शान्त छ ।” 

यसअघि जेन-जी आन्दोलनसँगै स्थानीयहरूले १० दिनदेखि पावर हाउस बन्द गरी विद्युत उत्पादन रोकिरहेका थिए। तर उत्पादन सुचारु गराउन कम्पनीले हालै गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पासहित जनप्रतिनिधिसँग मात्र छलफल गरेको जानकारी पाएपछि आन्दोलित पक्ष असन्तुष्ट भएका थिए।

स्थानीयको असहमतिकाबीच कम्पनी र जनप्रतिनिधिबीच बैठक भएपछि उनीहरू पालिका भवनमा जम्मा भई विरोध गरेका थिए। स्थिति तनावग्रस्त बनेपछि तोडफोड र ढुंगामुढा भएको प्रहरीले जनाएको छ। आक्रोश बढ्दै जाँदा जनप्रतिनिधि र कम्पनीका अधिकारीहरू बैठकस्थल छाडेर भागेका थिए। घटनामा दुई जना सामान्य घाइते भएका छन्।

४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाबाट करिब दुई दशकअघि विद्युत उत्पादन सुरु भए पनि वचनबमोजिम स्थानीयलाई सेयर वितरण नभएकाले पटक–पटक विवाद हुँदै आएको छ। यही विषयलाई लिएर भोटेकोशी क्षेत्रमा निरन्तर तनाव सिर्जना हुने गरेको छ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update