Harsamaya
सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व 
बैतडी - बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व मनाइएको छ । विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पूतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए। किंवदन्तीअनुसार भगवान् श्री कृष्णले राक्षसी प्रवृत्तिकी पूतनालाई मारेपछि उनका साथी ग्वाला ९गोठाला०ले पूतनाको शव दहन गरेका थिए । द्वापर युगमा विषाक्त दूध सेवन गराइ बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पूतनालाई भगवान् श्री कृष्णले दूध चुसी मारेको र भगवान् श्री कृष्ण भने बाँचेको खुसीयालीमा असोज सङ्क्रान्तिका दिन यो पर्व मनाइने भट्टको भनाइ छ । 
 भाद्र सङ्क्रान्ति तथा ओल्के सङ्क्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट बिरुवाको लिङ्गोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ । 
ओल्के सङ्क्रान्तिका दिन गोठालाहरूले बूढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगा थप्ने गर्छन् । यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिन्छ । साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकै पटक निकाली एकैसाथ ‘बूढी पोल्ने’ परम्परा छ । पूतनाको स्वरूपमा तयार गरी सिँगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरि घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । दोबाटोमा जलाएको पूतना राक्षसीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि छ । यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको बैतडीको दोगडा केदार– ३ श्रीकोटका गणेश विष्टले बताए । यस पर्वमा रात भरी देउडा खेल्ने चलन भए पनि युवापुस्ताले ध्यान नदिँदा पछिल्लो समयमा यस्ता चलन लोप हुँदै गएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update